close

१४ जनाको शव संकलन, सिधै काठमाडौँ ल्याइँदै

प्रतिकुल मौसमले उद्धारमा समस्या

१४ जनाको शव संकलन, सिधै काठमाडौँ ल्याइँदै

प्रतिकुल मौसमले उद्धारमा समस्या

Trulli
ADVERTISEMENT

काठमाडौँ । आइतबार तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव सिधै काठमाडौँ ल्याइने भएको छ । मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरे भन्ने भिरमा जहाज दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो ।

 

दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमान सवार २२ जनामध्ये १४ जनाको शव संकलन भएको छ । जहाजमा सवार कसैलाई पनि जीवित अवस्थामा भेट्न सम्भावना नरहेको सम्बन्धित अधिकारीहरूले बताएका छन् । 


त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले २२ मध्ये १४ जना यात्रुको शव संकलन भएको पालिका खबरलाई जानकारी दिएका छन् ।

 

अहिले त्यहाँ सेना र स्थानीयको टोलीले थप शव संकलन गरिरहेका छन् । तर, प्रतिकुल मौसमका कारण दुर्घटनास्थलमा उद्धार टोली पठाउन कठिनाइ भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उद्धार समन्वय केन्द्रका अनुसार कैलाश र डाइनस्टी एयरको हेलिकोप्टरमार्फत टोली पठाउने प्रयास भए पनि सम्भव भएको छैन ।

 

दुर्घटनास्थल पुगेका स्थानीयहरूका अनुसार कोही पनि घाइते वा जीवित रहेको देखिँदैन । स्थानीयका अनुसार विमानसँगै यात्रुहरूको शव समेत टुक्रा टुक्रा भएका छन् । तर, अहिले पनि कोही जीवित भेटिन्छन् कि भनेर थप टोली पठाउन खोजिएको उनी बताउँछन् । प्रतिकुल मौसमका कारण त्यो पनि सम्भव हुन सकेको छैन ।

 

‘तीन पटकसम्म गरिएको प्रयास असफल भएपछि दुर्घटनास्थलबाट हेलिकोप्टर फिर्ता भएको छ,’  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उद्धार समन्वय केन्द्रका ती अधिकारीले पालिका खबरलाई जानकारी दिए ।

 

अहिले कोभाङमा कैलाश र डाइनस्टी एयरको हेलिकोप्टर तैनाथ राखिएको उनले बताए । उनका अनुसार जोमसोम विमानस्थलमा फिस्टेल एयरको हेलिकोप्टर पनि तयारी अवस्थामा राखिएको छ ।

 

नेपाली सेनाले भने हेलिकोप्टरबाट ११ हजार फिटको उचाइमा १५ जना सैनिकलाई उतारेको छ । नेपाली सेनाका अनुसार उनीहरू पैदल हिँडेर दुर्घटना भएको स्थानतर्फ जाँदैछन् ।

 

दुर्घटनास्थल १४ हजार ५ सय फिट उचाइमा छ । यसअघि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली लिएर फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनास्थल नजिकै अवतरण गरेको थियो । दुई खेपमा त्यो हेलिकोप्टरले ८ जनालाई त्यहाँ लगेको थियो ।

 

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले दिएको जानकारी अनुसार दुर्घटना भएको स्थानमा ठूलो हेलिकोप्टर पठाउन सम्भव देखिएको छैन । त्यसैले सानो हेलिकोप्टरबाट पठाउने प्रयास जारी छ । साथै उनले अहिले माथि रहेको टोलीले शव संकलन गरिरहेको जानकारी समेत दिएका छन् ।

 

आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज १२ मिनेटपछि नै सम्पर्कविहीन भएको थियो ।

 

सोमबार बिहान यार्सागुम्बा संकलन गर्ने व्यक्तिहरुले दुर्घटनाग्रस्त विमानको अवशेष फेला पारेर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि सुरक्षाकर्मीको टोली हेलिकोप्टरमार्फत त्यसतर्फ गएको थियो ।

 

नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । विमानमा को पाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् ।