close

मुग्लिन-पोखरा सडक दैनिक पाँच घण्टा बन्द हुने

मुग्लिन-पोखरा सडक दैनिक पाँच घण्टा बन्द हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा सडकखण्डमा दैनिक यातायात बन्द गरेर सडक विस्तार कार्य अघि बढाइने भएको छ ।

दैनिक पाँच घण्टा बाटो बन्द गरेर राजमार्ग विस्तार कार्य अघि बढाइने भएको हो । राजमार्ग अन्तर्गत तनहुँस्थित याम्पाफाँट-घाँसीकुवा सडक खण्डबाट काम सुरू गर्न लागिएको छ ।

जेठ २२ गतेदेखि दैनिक पाँच घण्टा बाटो बन्द गरेर सडक विस्तार गर्न लागिएको मुग्लिन-पोखरा सडक आयोजना तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

आइतबारदेखि राति ११ बजेदेखि बिहान ४ बजेसम्म पाँच घण्टा मुग्लिन-पोखरा सडकखण्डमा सवारी साधन रोकेर सडक विस्तार काम सुरू हुने छ ।

आयोजनाले जारी गरेको सूचनामा 'अर्को सूचना जारी नहुन्जेल राति ११ बजेदेखि बिहान ४ बजेसम्म यो सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न' भनिएको छ ।

नियमित रूपमा सवारी साधन सञ्चालन हुँदा काम गर्न असजिलो पर्ने भएकोले दिनहुँ पाँच घण्टा यातायात आवागमन रोकेर सडक विस्तार कार्य गर्न लागिएको आयोजनाले जनाएको छ ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा पृथ्वी राजमार्गको सडक चार लेनको बनाउन लागिएको हो ।

चार लेनको सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ भने बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ ।