close

विज्ञापन ऐन बनाएर कार्यान्वयनमा ल्याउने लुम्बिनीका मुख्यमन्त्री केसीको प्रतिबद्धता

विज्ञापन ऐन बनाएर कार्यान्वयनमा ल्याउने लुम्बिनीका मुख्यमन्त्री केसीको प्रतिबद्धता

Trulli
ADVERTISEMENT

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकालमै विज्ञापन ऐन बनाएर कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले आन्तरिक मामिला तथा सञ्चारमन्त्रान्त्री तिलकराम शर्मालाई विज्ञापन ऐनको मस्यौदा बनाउन र आफूको कार्यकालमै कार्यान्वयनमा ल्याउने गरी काम गर्न निर्देशन दिए   ।

विज्ञापन बोर्डले शुक्रबार बुटवलमा आयोजना गरेको विज्ञापन आचारसंहिता एवम् विज्ञापन राष्ट्रिय नीतिसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले बोर्डले तयार गरेको आचारसंहिता र नीतिसमेत हेरेर प्रदेशले ऐन बनाउने बताए ।

संघीय सरकारले समयमै काम नगर्दा प्रदेशलाई पनि अफ्ना कार्यक्रम अगाडि बढाउन समस्या भएको बताउँदै उनले प्रदेशको विज्ञापन नीतिमा हेरफेर हुने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले विज्ञापन समग्र अर्थतन्त्रसंग जोडिएको विषय भएकाले यसलाई ठोस योजना बनाएर अगाडि बढाउनु पर्ने बताए । उनले सोहीअनुसार प्रदेश सरकारले ऐन कानुन तथा नीति बनाउने र मुख्यमन्त्रीको निर्देशनअनुसार नै आफूहरुको कार्यकालमै विज्ञापन ऐन बनाएर कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे । त्यसलाई कस्तो बनाउने सुझाव सल्लाह दिन पनि उनले आग्रह गरे।

त्यस अवसरमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले ढिला भएपनि दुई वर्षअगाडि ऐन आएपछि विज्ञापनलाई व्यवस्थित गर्न आफूहरु लागि परेको बताए । 

विज्ञापन नियमन गर्ने ऐन, २०७६ र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७६ को व्यवस्था अनुसार विज्ञापन बोर्ड गठन भएको र सोही बोडले विज्ञापनलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा मस्योदा तयार गरी छलफल अन्तरक्रियाको क्रममा रहेको वताए।

त्यस्तै, लुम्बिनी प्रदेशका मुख्य सचिव डिल्लीराम शर्माले निर्माण हुने ऐन नियम र कानुनले सबैलाई हित गर्नुपर्ने र सरोकारवालाहरुको अधिकार पनि सुनिश्चित गराउनुपर्ने भनाइ राखे । त्यैगरी, विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाले विज्ञापन आचारसंहिता तथा विज्ञापन नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको र आगामी आर्थिक वर्ष २०७९÷०८० बाट लागु गर्ने तयारीमा रहेको जानकारी गराए ।

कार्यक्रममा राससका पूर्व अध्यक्ष पत्रकार डाः बालकृष्ण चापागाइँ, पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेरबहादुर केसी, नेपाल विज्ञापन संघ , लुम्बिनी संयोजक गौतम भुसाल,उपभोक्ता मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष दिनेश पाण्डे,राज्य टेलिभिजनका समाचार प्रमुख यमलाल भुसाल,तिलोत्तमा एफएमका स्टेशन म्यानेजर टिकाराम घिमिरे लगाएतले आफ्ना जिज्ञासा तथा भनाई राखेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष बसन्त गिरी,महासचिव बिक्रम खड्का रुपन्देही अध्यक्ष रामराज पोख्रेल,उपाध्यक्ष विश्वास ढकाल लगाएत सञ्चारकर्मी तथा स्थानयीय तहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।