close

उठ्ने भयो काठमाडौंको फोहोर, जनप्रतिनिधिसँग यस्तो सहमति

उठ्ने भयो काठमाडौंको फोहोर, जनप्रतिनिधिसँग यस्तो सहमति

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र थुप्रिएको फोहोर भोलि (मंगलबार) देखि उठ्ने भएको छ ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा आज (सोमबार) भएको जनप्रतिनिधिबीचको छलफलमा केही दिनदेखि नउठेको फोहोर उठाउने सहमति जुटेको हो ।

सहरी विकास मन्त्रालयमा दिउसो ३ बजे सुरु भएको वार्ता राति सात बजे सकिएको थियो । 

सो वार्तामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोल सहभागी थिए । उक्त वार्तामा ककनी, धुलिबेसी, गोकर्णेश्वरका जनप्रतिनिधि समेत सहभागिता थिए ।

ल्याण्डफिल्ड साइट छेउछाउ (फोहोरबाट प्रभावित) स्थानीयका माग  महानगरले क्रमिक रुपमापूरा गर्ने प्रतिवद्धता जनाएपछि स्थानीय जनप्रतिनिधि भोलिदेखि फेहोर उठाउने निर्णयमा सहमत भएका हुन् ।

सहमतिमा शहरी विकास मन्त्रालयका बञ्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाका निर्देशक रविन्द्र बोहरा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनीबेशी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल लगायतले हस्ताक्षर गरेका छन् । ककनी गाउँपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी शर्माले समझदारीमा हस्ताक्षर गरेकी छिन् । 

द्विपक्षीय सहमति शहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका नगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल लगायतको रोहबरमा भएको हो ।  

सहमतिमा मन्त्रालय, काठमाडौं महानगर र प्रभावित क्षेत्र तीनै पक्षबाट आ–आफ्ना प्रतिवद्धता जनाइएके छ । 

मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० मा ल्याण्डफिल साइट क्षेत्रमा सडक नदी नियन्त्रण तथा वृक्षारोषण लगायतमा एक करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनपछि जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाउने मन्त्रालयले प्रतिवद्धता जनाएको छ । यस्तै प्रभावित क्षेत्रका जनताका लागि दश बेडको अस्पताल निर्माणमा स्वास्थ्य मन्त्रालयलाई पहल गर्ने प्रतिवद्धता पनि शहरी विकासले जनाएको छ । 

यस्तै, काठमाडौं महानगरले प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य बीमा गर्ने प्रक्रिया एक साताभित्र थालनी गर्ने प्रतिवद्धता जनाएको छ । प्रभावित क्षेत्रका वडालाई दिँदै आएको अनुदानलाई निरन्तरता दिने प्रतिवद्धता पनि महानगरको छ । दूर्गन्धित क्षेत्रलाई रसायनिक र जैविक विधिबाट उपचार गर्ने कार्य १० दिनभित्र सुरु गर्ने प्रतिवद्धता पनि महानगरले जनाएको छ । 

साउन १ गतेदेखि फोहोरलाई स्रोतमै बर्गीकरणको प्रतिवद्धता पनि सहमतिमा महानगरले गरेको छ । 

यस्तै, प्रभावित धुनीबेशी तथा ककनी गाउँपालिकाले मंगलबारदेखि फोहोर बिसर्जनका लागि सहजीकरण गर्ने प्रतिवद्धता जनाएका छन् । 

भोलि बिहान ८ बजेदेखि काठमाडौंको फोहोर उठाउने सहमति भएको महानगरकी उपप्रमुख डंगोलले जानकारी दिइन् ।