close

नवनिर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्वित ​​​​​​(विज्ञप्तिसहित )

नवनिर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्वित ​​​​​​(विज्ञप्तिसहित )

Trulli
ADVERTISEMENT

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवनिर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षलाई निलम्बन गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै अख्तियारले  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्र लेखी उनीहरुलाई कारबाही गरेको जानकारी गराएको हो । 

भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका अवस्थामा स्थानीय जनप्रतिनिधिमा निर्वाचित भएकाले स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न  सो पत्रमा उल्लेख गरेको छ ।

अख्तियारका अनुसार निलम्वनमा पर्नेहरुमा कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्ष देवीदत्त उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ । अघिल्लो कार्यकाल वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याएको भन्दै उनीविरुद्ध अख्तियारले मुद्दा हालेको थियो ।

यस्तै, मोहन्याल–३ का वडाध्यक्ष नन्दराम गिरी छन् ।  अघिल्लो पटक पनि वडाध्यक्ष रहेका उनीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा विचाराधीन छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–७ का वडाध्यक्ष सुरतबहादुर रावललाई पनि निलम्बन गर्न अख्तियारले पत्र पठाएको छ । कालीदेवी माविको शिक्षक रहँदा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको भन्दै उनीविरुद्ध मुद्दा चलेको थियो । उनको पनि मुद्दा हाल विचाराधीन अवस्थामा छ । 

नुवाकोटको बिदुर नगरपालिका–९ का वडाध्यक्ष हरिराम भण्डारीलाई पनि अख्तियारले निलम्बन गर्न भनेको छ । सुलक्षण माविको प्रध्यानाध्यापक रहेका उनले बेतलवी विदामा बसेको समयको पनि विदा सुविधा वापतको रकम पाएको विषयमा अख्तियारले दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।