close

नरेठाँटी बजारमा बाढीः ३५ घर उच्च जोखिममा, लोकमार्ग अवरुद्ध

नरेठाँटी बजारमा बाढीः ३५ घर उच्च जोखिममा, लोकमार्ग अवरुद्ध

Trulli
ADVERTISEMENT

बागलुङ । गलकोटको नरेठाँटी बजार डुबानको उच्च जोखिममा परेको छ । 

गलकोट नगरपालिका-२ नकटेखोलामा आएको बाढीका कारण नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा परेको वडा अध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए ।

बुधबार साँझदेखि परेको वर्षाका कारण जसपुरबाट झरेको पहिरो नकटेखोलामा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको हो ।

बाढीको त्रासले स्थानीय रातभर जागराम बसेका थिए । नकटेखोलाको कटानले तटीय क्षेत्रका घर समेत जोखिममा परेको उनले बताए ।

‘यहाँका घरहरु जोखिममा परेका छन्, एक घर परिवारलाई सुरक्षित स्थानमा सारेका छौँ’ अध्यक्ष भण्डारीले भने ‘अरु परिवारलाई पनि सार्नु पर्ने देखिन्छ ।’ 

बाढीले महेन्द्र माविको खेल मैदान पुरिएको र विद्यालय समेत जोखिममा परेको उनले बताए । 

मध्यपहाडी लोकमार्ग अवरुद्ध

वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको छ । घोडाबाँधेदेखि गलकोटसम्मको खण्डमा आधा दर्जनभन्दा बढी स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा यात्रु बाटोमै अलपत्र परेका छन् । पोखरा, काठमाडौँ लगायतका स्थानबाट, बुर्तिबाङ, रोल्पा, रुकुम हिँडेका यात्रु गलकोट नगरपालिका-२ भुङ्खानीमै अलपत्र परेका छन् ।

बाढी पहिरोले सडक क्षतविक्षत बनाएको हुँदा खुलाउन केही समय लाग्ने गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले बताए ।