close

सातै प्रदेशको बजेट आज

सातै प्रदेशको बजेट आज

Trulli
ADVERTISEMENT

काठमाडौं । सातवटै प्रदेशले आज बजेट  सार्वजनिक गर्दै छन् । 

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै बजेट ल्याउनुपर्ने व्यवस्था गरे अनुसार प्रदेश सरकारहरुले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । 

प्रदेश सरकारहरुले १ असारमा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने प्रावधान छ । सोही अनुसार सात वटै प्रदेशको बजेट आज सार्वजनिक हुने छ । यो बजेट वर्तमान संसद आएपछि गठन भएका प्रदेश सरकारहरुको अन्तिम बजेट हो ।  आगामी आवमा प्रदेशमा समेत निर्वाचनको माहोल हुने छ । सोहीकारण प्रदेश सरकारहरुले लोकप्रिय र वितरणमुखी बजेटलाई प्राथमिकता दिँदैछन् ।

कस्तो आउँदैछ बजेट ?

संघीय सरकारले कृषिमा आत्मनिर्भर हुने कार्यक्रमलाई प्राथमिकता राखेसँगै प्रदेश १ सरकारले समेत कृषिलाई बजेटमा उच्च प्राथमिकता दिने भएको छ । किसान परिचय पत्र वितरण गर्ने तथा एक पालिका एक उत्पादनको नीति अबलम्बन गर्ने गरी प्रदेश १ सरकारले बजेट ल्याउने भएको छ । 

आगामी वर्ष खोरेत रोग मुक्त अभियान चलाउने घोषणा गरेको प्रदेश १ सरकारले स्थानीय तहसँगको समन्वयमा एकीकृत बजारीकरण मोडेल सुनिश्चित गर्ने प्रदेश सरकारको नीति छ । 

मधेश प्रदेश सरकारले किसान लक्षित केही लोकप्रिय कार्यक्रम बजेटमार्फत घोषणा गर्दैछ । जसमा कृषि भूमिमा सिंञ्चाइ गर्ने प्रयोजनका लागि मिटर जडान गर्नु परेमा मिटरको शुल्कमा ७५ प्रतिशत अनुदान दिने योजना सरकारको छ ।

बागमती प्रदेशले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन चक्लाबन्दी खेतीलाई प्रोत्साहन गर्ने गरी बजेट ल्याउने भएको छ । यसका लागि स्थानीय तहसँगको समन्वयमा बाँझो जमिनको सदुपयोग गर्ने कार्यक्रम ल्याइने भएको छ । यसलाई बागमती प्रदेश सरकारले बाँझो जमिन बैंक स्थापनाको अवधारणामा समेटेको छ ।

गण्डकी प्रदेशले महिलालाई व्यावसायिक कृषिमा आकर्षित गर्न विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ । महिलाको रोजगारी कृषिको जिम्मेवारी नारासहित बाँझो जमिन तथा अन्य जमिनमा महिलाले सामूहिक खेती गरेमा उनीहरुले गर्ने उत्पादनको आधारमा अनुदान दिने प्रणाली सुरु गर्ने तयारी प्रदेश सरकारको छ । हरेक वडामा कृषि तथा पशु प्राविधिक खटाएर उनीहरुमार्फत उत्पादनमा आएको वृद्धिका आधारमा प्राविधिकलाई पुरस्कृत गर्ने कार्यक्रम समेत आगामी आवको बजेटमा आउने भएको छ ।

लुम्बिनी प्रदेश सरकारले आगामी आवमा १२ हजार रोजगारी सिर्जना गर्ने गरी बजेटमा घोषणा गर्दैछ । लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धनबाट यस्तो रोजगारी सिर्जना हुने सरकारको विश्वास छ ।

कर्णाली प्रदेश सरकारले प्रदेश भित्रको हवाई सेवालाई भरपर्दो, सुलभ र सहज बनाउन सुर्खेत विमानस्थलबाट प्रदेश भित्रका अन्य विमानस्थलमा हुने हवाई उडान संख्याका आधारमा मापदण्ड बनाएर हवाई सेवा प्रादयकलाई सहुलीयत दिने तयारी गरेको छ । आगामी आवमा सुर्खेतको भेरीगंगा नगरपालिकाको रामघाटमा निर्माण गरिने प्रादेशिक विमानस्थलको निर्माणमा संघीय सरकारसँग समन्वय गर्ने कार्यक्रम समेत बजेटमा राखिने छ ।

सुदूरपश्चिम प्रदेशले प्रदेश भित्र मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा बजेट राख्ने भएको छ । साथै, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चिसापानी–अत्तरिया–गड्डाचौकी खण्डलाई चार लेनमा स्तरोन्नती गर्न समेत बजेट राख्ने प्रदेश सरकारको तयारी छ । दलित, बादी, राउटे, राजी, सोनाहा, मुक्त कमैया, कमलरी, हलिया तथा विपद्को उच्च जोखिममा रहेका नागरिकलाई लागि सुरक्षित आवास निर्माणको योजना समेत बजेटमा समेटिने भएको छ ।