close

डुम्रे-बेसीसहर र बेसीसहर-चामे सडक अवरुद्ध

डुम्रे-बेसीसहर र बेसीसहर-चामे सडक अवरुद्ध

Trulli
फाइल फोटो
ADVERTISEMENT

लमजुङ । गएरातिदेखि परेको वर्षाले पहिरो जाँदा डुम्रे-बेसीसहर सडकखण्ड अवरुद्ध भएको छ ।

बेसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

सो सडकखण्डको वैकल्पिकरूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुरबजार जोडिने यस भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो ।

गत वर्ष र केही हप्ताअघि गएको बाढीले डुम्रे बेसीसहरको देउरालीडाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आए पनि यस खण्डसमेत पटक–पटक बाढीपहिराले अवरुद्ध बनाउँदै आएको छ ।

सडक अवरुद्ध भएपछि बेसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, तनहुँ, गोरखालगायत जाने सो स्थानबाट बेसीसहर आउने सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरी निरीक्षक रेग्मीले बताए ।

बेसीसहर–चामे सडक पनि अवरुद्ध

पहिरोले बेसीसहर–चामे सडकसमेत अवरुद्ध भएको छ । गए रातिको वर्षाले बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा पहिरो खस्दाउक्त स्थानमा सवारी सञ्चालन हुनसकेको छैन ।

उक्त स्थानमा सडक अवरुद्ध भएसँगै बिहानैदेखि वैकल्पिक सडक बेँसीसहर–बाझखेत हुँदै खुदी निस्कने सडकबाट सवारीसाधन सञ्चालन भइरहेको प्रहरी निरीक्षक रेग्मीले बताए ।

यस सडक लमजुङ–मनाङ जोड्ने एक मात्र सडक हो । ६५ किलोमिटरको यस सडकमा दैनिकजसो नै सडक अवरुद्ध हुने गर्दा यात्रु मर्कामा परेका छन् ।