close

माेरङमा मतदानकाे तयारी पूरा

माेरङमा मतदानकाे तयारी पूरा

Trulli
ADVERTISEMENT

आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न मोरङ जिल्लामा तयारी पुरा भएको छ । 

मतदान अधिकृत तथा अन्य  कर्मचारीले निर्वाचनको मतपत्रसहितका सामग्री लिएर आफ्नो मतदान केन्द्र पुगेका छन् । प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलका अनुसार बिहीबार साँझ सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको बताए ।

उनले मतदान अधिकृतले आफ्नो मतदान केन्द्रमा पुगेर निर्वाचनसम्बन्धी सूचना टाँस, सर्वदलीय बैठक आह्वान जस्ता काम सुरु गरेको बताए । 

यस्तै, निर्वाचनको वातावरण शान्तिपूर्ण र सौर्हादपूर्ण रहेको छ भन्दै सम्पूर्ण मतदान केन्द्र सुरक्षित रहेको र भयरहित एवं त्रासबिना मतदान गर्न प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लवनकश्यप अधिकारीले सबैलाई आग्रह गरेका छन् ।

प्रत्येक निर्वाचन केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी र नेपाली सेनाको व्यवस्था गरिएको छ । त्यसैले ढुक्कसाथ मतदान गर्न मतदातालाई आफ्नो केन्द्रमा जान अधिकारी आग्रह गर्छन् । 

जिल्लामा तीन सय छ केन्द्रमा आठ सय ३९ मतदान केन्द्र र दुई अस्थायी केन्द्र गरी जम्मा आठ सय ४१ मतदान केन्द्र रहेको छ । जिल्लामा रहेका मतदानस्थल र मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर वर्गीकरण गरिएको छ ।

वर्गीकरण अनुसारको मतदान केन्द्रमा सुरक्षा प्रबन्ध मिलाएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल बताउँछन् । निर्वाचनलाई निष्पक्ष, भयरहित, स्वच्छ, स्वतन्त्र एवं मर्यादित बनाउन हरसम्भव प्रयास जारी रहेको उनले बताए । निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरी सुरक्षाको चार घेरा रहने उनले जानकारि दिए ।

एक मतदान केन्द्रमा आठदेखि १२ राष्ट्रसेवक कर्मचारी परिचालन हुने व्यवस्था छ । मोरङमा प्रतिनिधिसभातर्फ छ स्थानका लागि एक सय पाँच र प्रदेशसभातर्फ १२ स्थानका लागि एक सय १० जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

यसैगरी मतदानस्थलमा बिजुली, खानेपानी, टेलिफोन, शौचालय पूर्ण व्यवस्थासँगै सो स्थानको सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिएको प्रिजिअ दाहालले बताए । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार जिल्लामा मतदान केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरीका दुई हजार ८४ र तीन हजार १६ म्यादी प्रहरी खटाइएको छ ।