close

आफैँले दूध र तरकारी जोहो गर्दै वृद्धाश्रम

आफैँले दूध र तरकारी जोहो गर्दै वृद्धाश्रम

Trulli
ADVERTISEMENT

तनहुँ ।  व्यास नगरपालिका–५ बेनीपाटनस्थित राष्ट्रिय परोपकार महासङ्घ नेपालद्वारा सञ्चालित ज्येष्ठ नागरिक चौतारी (वृद्धाश्रम) उदाहरणीय बन्दै आएको छ । 
    
आश्रममा आश्रित ज्येष्ठ नागरिकले आफैँ तरकारी र दूध उत्पादन गर्दै आएका छन् । विगतमा घरमा रहँदाखेरीको सिकाइ र भोगाइलाई यहाँ पनि उपयोग गरी तरकारी र दूध उत्पादन गर्दै आएको राष्ट्रिय परोपकार महासङ्घ नेपाल जिल्ला कार्यसमितिका अध्यक्ष तारानाथ घिमिरेले बताए । 
    
'यहाँ आश्रित ज्येष्ठ नागरिक आफैँले बारी खनेर तरकारी लगाउने गरेका छन् । हामी रासायनिक मल प्रयोग गर्दैनौँ । प्राङ्गारिक मल प्रयोग गरेर तरकारी उत्पादन गर्छौं, उनले भने,  'आश्रममा बस्दै आएका काम गर्नसक्ने सबैले सकेको काम गरेर प्राङ्गारिक उत्पादन नै खाने गरेका छन् ।'
    
 यहाँका ज्येष्ठ नागरिकलाई बाहिरबाट सहयोगस्वरुप  आएको खाद्यान्न, तेल, नुन, चिनीलगायत अत्यावश्यक सामग्री प्राप्त हुने गरेको र  आफैँले पनि बारीमा उत्पादन गरेको खानेकुरा धेरै मिठो हुने गरेको यहाँ आश्रित ज्येष्ठ नागरिकले बताए । 
    
 'हामी तरकारी र दूधमा आत्मनिर्भर छौँ । रासयनिक मल होइन हामीले गाईको मल प्रयोग गरेर आफैँ खटिएर तरकारी लगाउँछौँ । किनेर खानुपर्ने तरकारी पनि हाम्रो भएको जमिनमा उत्पादन गरेरै खान्छौँ', राष्ट्रिय परोपकार महासङ्घ नेपाल जिल्ला कार्यसमितिका उपाध्यक्ष सुवेदार बलबहादुर रानाभाटले भने । 
    
अहिले बारीमा हिउँदे तरकारी प्रशस्त रहेको र आश्रमको स्वामित्वमा नै रहेको एक रोपनी जग्गामा खेतीपाती गर्दै आएको उनको भनाइ थियो । 'यहाँ उत्पादित तरकारीले आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई पुग्छ । बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन । चैत, वैशाखका लागि नयाँ तरकारीको बिरुवा रोपिएको छ । अब लहरे तरकारीको याममा रोप्नका लागि टनेल तयारी गर्नुपर्ने बेला भएको  छ', उपाध्यक्ष रानाभाटले भने। 
    
 तरकारी उत्पादन गर्न यहाँ पालिएको गाईको गोबर, गहुँत प्रयोग गरिएको अध्यक्ष घिमिरेले बताए । आश्रमको करेसाबारीमा काउली, बन्दा, भेन्टा, कागती, धनियाँ, मूला, साग, ब्रोकाउलीलगायत तरकारी प्रशस्त मात्र फलेका छन् । तरकारीसँगै उब्जिने घाँस र कुँडोले यहाँका गाई पालिएका छन् । 
    
 आश्रममा कहिले पनि दुहुँनो गाई टुट्दैन । गाईपालनले आश्रममा आउने सहयोगदाता र भेटघाटका लागि आउने पाहुनालाई जुनसुकै समय दूध खुवाउन सकिन्छ । आश्रमले हाल पाँच वटा गाई पालेको छ । ती गाईबाट आएको दूधले पूर्णरुपमा पुग्ने गरेको उनले बताए ।  
    
 तरकारीखेती गर्दै आएको स्थानमा हालसम्म रासायनिक मल प्रयोग नभएको र  बालुवा रहेको स्थानलाई उत्पादनमुखी बनाउन यहाँ आश्रित ज्येष्ठ नागरिकको एकताले सफल भएको उनकाे जिकिर छ ।