close

हिउँदमा बस्दैनन् जुम्लाका कार्यालय प्रमुख

हिउँदमा बस्दैनन् जुम्लाका कार्यालय प्रमुख

Trulli
ADVERTISEMENT

जुम्ला। हिउँदयाम सुरु भएसँगै जुम्लाका अधिकांश सरकारी कार्यालयका प्रमुख जिल्ला बाहिर रहेको पाइएको छ । सांसद् विनिता कठायतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीसहितको टोलीले जिल्लाका सरकारी कार्यालयमा छड्के चेक गरेको थियो।

जाँच गर्दा जनस्वास्थ्य सेवा कार्यालय, सघन सहरी तथा भवन निर्माण आयोजना, कृषि विकास कार्यालय, पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय र नेपाल टेकिलम शाखा कार्यालयका प्रमुख नभेटिएको सांसद् कठायतले बताइन्।

‘अनुगमनका क्रममा कृषि विकास कार्यालय जुम्लाका प्रमुख बाहेक अन्य सरकारी कार्यालय प्रमुखविहीन थिए’ उनी भन्छिन्, ‘नागरिकसँग प्रत्यक्ष जोडिएका कार्यालयमा प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । सरकारी कार्यालयका कर्मचारीले जिल्ला बाहिर कार्यालयको कामको सिलसिला वा घर बिदामा जाँदा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने व्यवस्था छ ।’

सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्रत्येक कार्यालयका सूचना अधिकारीको फोन नम्बर सङ्कलन गरिने भएको छ । हिउँदे समयमा कार्यालयमा नबस्ने कार्यालय प्रमुखलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी केशरीले बताएका छन्।

सहरी तथा भवन निर्माण आयोजनाका सव–इञ्जिनीयर चन्द्रबहादुर खड्काले कार्यालयको कामको शिलशिलामा कार्यालयप्रमुख काठमाडौँ गएको बताए । जुम्लालगायत कर्णालीका जिल्लाकार्यालयसमेत हेर्नुपर्ने भएकोले सबै जिल्लाको काम विषेशले कार्यालय प्रमुख बाहिर गएको उनको भनाइ थियो । 

जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले आफू कार्यालयमै रहँदा जिल्लाका स्थानीय तहमा तालिम र अनुगमन गर्न जाँदा हाजिर गर्न  छुटेको जानकारी दिए। 

नवनिर्वाचित सांसद कठायतको नेतृत्वमा रहेको टोलीले आइतबार छ वटा कार्यालयमा अनुगमन गरेकोे थियो । जिल्लाका ५६ सरकारी कार्यालय छन् । जाडो महिनामा सरकारी कार्यालयका प्रमुख जिल्लामा नबस्ने जनगुनासो बढेपछि अनुगमन गरिएको थियो।