close

नगरकोटको सीमाङ्कन, सार्वजनिक जग्गाको संरक्षण र विकासमा संयुक्त लगानी

नगरकोटको सीमाङ्कन, सार्वजनिक जग्गाको संरक्षण र विकासमा संयुक्त लगानी

Trulli
ADVERTISEMENT

भक्तपुर ।भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लास्थित नगरकोटको पर्यटन विकासका लागि दुवै जिल्लाका सिमाना जोडिएका नगरपालिकाले संयुक्त बजेट लगानी गर्ने भएका छन् । लामो समयदेखि सिमानामा रहेको सार्वजनिक जग्गा दुरुपयोग हुनाका साथै पर्यटन शुल्कमा समेत भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डनदेउपुर नगरपालिकाबीचको विवाद दीर्घकालीनरुपमा समाधान गरिएको छ । अब नगरकोटको विकासमा एकमत भएर लाग्ने दुवै नगरपालिका सहमत भएका हुन् ।  
    
उपत्यकाकै प्रमुख पर्यटकीय गन्तव्य नगरकोटको सीमाङ्कन एवं यस क्षेत्रको पर्यटन विकासका लागि दुवै नगरपालिका संयुक्तभएर कार्य गर्ने सहमति भएको चाँगुनारायण नगरपालिकाकाका प्रमुख जीवन खत्रीले बताए। 

चार वर्ष अगाडि नगरकोटमा चाँगुनारायण नगरपालिकाले पर्यटन शुल्क उठाउन थालेकामा मण्डनदेउपुर नगरपालिकाले पनि नगरकोटमै एक किलोमिटरको अन्तरमा पर्यटन शुल्क उठाएपछि पर्यटन शुल्कबारे दुई नगरपालिकाबीच विवाद भएकोे थियो ।  एउटै ठाउँमा घुम्न आउने पर्यटकले दोहोरो शुल्क तिर्नु परेकाले कतिपय पर्यटक त  बीचबाटै फर्केका र कतिपयले विरोधसमेत जनाएपछि होटल व्यवसायीले पर्यटन शुल्कको विरुद्ध आन्दोलन नै गरेका थिए । 

नगरकोट जाने पर्यटकले भक्तपुरको बाटो प्रयोग गर्नुपर्ने तर धेरै होटल काभ्रेमा पर्ने भएपछि होटल व्यवसायीले तिर्ने राजस्व भने भक्तपुरले नपाउने हुँदा बेलाबेलामा विवाद हुँदै आएको थियो ।साथै यहाँका ठूला होटलले नै सार्वजनिक जग्गा हडपी भवन नै बनाएर होटल चलाएको विषयमा समेत विवाद हुँदै आएको थियो । नगरकोटका विद्यमान सबै समस्या समाधान गर्ने र त्यस स्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोपबहादुर वाईबासहितको टोलीबीच सहमति भएको हो । 
    
नगरकोटको सीमाङ्कन गर्ने, सार्वजनिक जग्गा पहिचान गर्दै संरक्षण गर्ने र यस स्थललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने निर्णय गर्दै यसका लागि आगामी दुई महिनाभित्र गुरुयोजना निर्माण गर्न दुवै नगरपालिकाले रु १०–१० लाख बजेट विनियोजन गरेको नगर प्रमुख खत्रीले जानकारी दिए। 

दुवै नगरपालिकाका जनप्रतिनिधि र नगरकोट नाल्दुम पर्यटन विकास समितिका पदाधिकारी तथा पर्यटन व्यवसायीलगायत  पदाधिकारीको सहमतिमा चालु आर्थिक वर्षभित्र गुरुयोजना निर्माण गर्ने निर्णय भएको उनको भनाइ छ  । 
    
नगरप्रमुख खत्रीले भने, 'नगरकोटको विकाका लागि गुरुयोजना तयार गर्ने, दुवै नगरपालिकाका प्राविधिक शाखा प्रमुख, अमिन तथा जनप्रतिनिधिको समन्वयमा आगामी दुई महिनाभित्र नगरकोटको जग्गा सीमाङ्कन गरी एकीन गर्ने, होटेल व्यवसायलगायत समग्र व्यवसायीले प्रयोग गरेका क्षेत्र सीमाङ्कन गर्ने, दुवै नगरपालिकामा रहेको सार्वजनिक जग्गा रेखाङ्कन गरी सम्बन्धित नगरपालिकाले आफ्नो क्षेत्रको सार्वजनिक जग्गा संरक्षण गर्ने र सबै क्षेत्रफलको यकिन तथ्याङ्क निकाल्ने भएका छौँ ।' 
    
यहीँ पुस २९ गते चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र काठमाडौँको शङ्करापुर नगरपालिकाबीच वृहत छलफल गरी नगरकोटको समग्र विकासका खाका तयार पारेर योजनाबद्ध रुपमा चारवटै नगरपालिकाले कार्य गर्ने निर्णय भएको पनि उनले बताए ।

नगरकोटमा चानपाका प्रमुख खत्री, मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोपबहादुर वाइबा, मण्डन देउपुरका उपप्रमुख विष्णुमणि नेपाल, चाँगुनारायणका प्रशासकीय प्रमुख हीरामणि सुवेदी, मण्डनदेउपुरका प्रशासकीय प्रमुख लोकबहादुर लोप्चान, नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङ, चानपा–६,७,८ का वडाअध्यक्ष क्रमशः धनबहादुर लामा, श्यामकृष्ण नायजु, जनक खत्री, मण्डन देन्दनदेउपुर नगरपालिका १ र २ वडाध्यक्ष शिवप्रसाद ढकाल, राजकुमार मल्ललगायतले नगरकोटको विकासमा एकताबद्ध भएर जाने सहमति जनाएका थिए  । 
    
नगरकोटका पर्यटन व्यवसायी गोकुल लामिछानेले दुवै नगरपालिकाबीच भएको सहमतिले नगरकोटको पर्यटन विकासमा कोल्टो फेर्ने अपेक्षा गरिएको बताउँदै नगरकोटसँग सिमाना जोडिएका तीनवटै जिल्ला यसैका लागि लाग्नुपर्ने बताए। उनले भक्तपुर हुँदै नगरकोट आउने सडक छिटो निर्माण गर्न पनि सबै निकायले दबाब दिनुपर्नेमा जोड दिए ।

सडककै कारण पछिल्लो समय भक्तपुर र नगरकोट आउने पर्यटक घटेर अन्यत्र गएको गुनासो गर्दै पर्यटन व्यवसायी लामिछानेले सडक र पूर्वाधारको विकासमा ध्यान दिनसके स्थानीयस्तरमा रोजगार प्रवद्र्धन गर्न टेवा पुग्ने पनि बताए ।