close

खानीखोलाद्वारा स्थानीय भाषा ऐन पारित

खानीखोलाद्वारा स्थानीय भाषा ऐन पारित

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिकाले स्थानीय भाषा ऐन–२०७९ पारित गरेको छ । गाउँपालिकाको ११औँ गाउँ अधिवेशनले सो ऐन पारित गरी भाषा आयोगमार्फत स्थानीय मातृभाषा प्रयोग गर्न सङ्घीय सरकारसमक्ष पठाउने प्रक्रिया थालेको छ ।

गाउँपालिकाका शिक्षा शाखाप्रमुख विष्णुबहादुर अधिकारीका अनुसार गाउँसभाले खानीखोला भाषा ऐन–२०७९, खानीखोला प्रज्ञा प्रतिष्ठान ऐन–२०७९ र खानीखोला भाषिक तथा सांस्कृतिक सङग्रहालय ऐन–२०७९ पारित गरेको छ । यसअघि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले स्थानीय भाषा ऐन, प्रज्ञा प्रतिष्ठान ऐन र भाषिक तथा सांस्कृतिक सङग्रहालय ऐन पारित गरेको थियो ।

 स्थानीय भाषाको संरक्षण एवं प्रर्वद्धनका लागि ती ऐन गाउँसभाबाट पारित गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । 

संविधानमा उल्लिखित भएको मौलिक हकअनुसार गाउँ सभामार्फत ऐन पारित गरी, मातृभाषाको प्रर्वद्धनमा योगदान पु¥याउने लक्ष्य रहेको अध्यक्ष थिङले बताए। सो गाउँपालिकामा तामाङ र मगर समुदायको बाक्लो बस्ती रहेका छन् । थिङका अनुसार यस गाउँपालिकामा भाषा आयोग नेपालबाट मातृभाषामा शिक्षासम्बन्धी एकीकृत अध्ययन गरी राष्ट्रपतिमार्फत वार्षिक प्रतिवेदन बुझाइ नेपाल सरकारसमक्ष मातृभाषामा शिक्षा लागू गर्न सिफारिससमेत गरिएको छ ।
    
उनले ऐनअनुसार स्थानीय विद्यालयका लागि स्थानीय भाषामा पाठ्यक्रम तयार गरिने बताइ । गाउँपालिकाले स्थानीय विद्यालयमा स्थानीय पाठ्यक्रम तयार गरी तामाङ मातृभाषा पठनपाठन गर्न चालू आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा बजेटको व्यवस्थासमेत गरेको उनको दावी छ ।