close

उपत्यकाका यात्रु दुर्व्यवहारमा परेपछि सचेत गराउँदै प्रहरी

उपत्यकाका यात्रु दुर्व्यवहारमा परेपछि सचेत गराउँदै प्रहरी

Trulli
ADVERTISEMENT

काठमाडाैं। उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनमा यात्रुमाथि परिचालक (सहचालक)को  दुर्व्यवहार बढ्दो छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको छ महिनामा मात्रै एक सय ४८ दुर्व्यवहारका गुनासा दर्ता भएका छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्व्यवहारमा परेको भनेर यात्रुबाट गुनासो आउने क्रम नरोकिएको बताए। 

यात्रुका गुनासालाई सम्बोधन गर्न र व्यवहार सुधारका लागि सचेतना कार्यक्रम सुरु गरिएको उनले जानकारी दिए। पुसमा गरिएको सचेतना कार्यक्रममा दुई हजार तीन सय २१ चालक तथा सहचालक सहभागी भएका र यो क्रम अहिले पनि जारी रहेको जनाइएको छ । 

प्रहरीले चालक तथा परिचालकको आचरण तथा व्यवहार सुधारका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र सार्वजनिक यातायात केन्द्रीय महासङ्घमा पत्राचारसमेत गरेको छ ।सार्वजनिक सवारी साधनमा यात्रुमाथि चालक–परिचालकबाट दुर्व्यवहार भएको भनी गुनासो बढेसँगै उक्त कार्यालयले सचेतना कार्यक्रमलाई पनि तीव्रता दिएको प्रवक्ता भट्टले बताए। 

सार्वजनिक सवारी साधनमा सम्मानजनक यात्रा गर्न पाउनु यात्रुको नैसर्गिक अधिकार भएकाले सभ्य व्यवहार गरी यात्रा गर्न र गराउन चालक तथा परिचालकलाई प्रहरी उनले  अनुरोध गर्दै आएका छन्। उक्त कार्यालयसहित काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा र यातायात व्यवसायी सङ्घसंस्थाका कार्यालयमा चालक तथा परिचालकका लागि ट्राफिक प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

सार्वजनिक सवारी साधनमा यात्रा गर्दा चालक तथा परिचालकबाट दुर्व्यवहार भएमा प्रहरीको हटलाइन नम्बर १०० र १०३ मा खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ । यसैबीच काठमाडौँको बबरमहलमा प्रदूषण परीक्षण गर्दा मापदण्डभन्दा बढी धुँवा फाल्ने २७ सवारी साधन कारबाहीमा परेका पनि उनले जानकारी दिए। मापदण्डभन्दा बढी धुँवा फाल्ने भाडाका मिनीबस १४, पिकअप भ्यान आठ, भाडाका माइक्रोबस तीन र कार दुई गरी २७ वटा सवारी साधन कारबाहीमा परेका थिए।