close

कित्ताकाट खुला गर्न ढिलाइ

कित्ताकाट खुला गर्न ढिलाइ

Trulli
ADVERTISEMENT

तनहुँ। तनहुँका स्थानीय तहहरूले जग्गा कित्ताकाट खुला गर्न ढिलाइ गरेका छन् । चार नगरपालिका र छ गाउँपालिका रहेको तनहुँमा पालिकाहरूले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाट खुलाइमा ढिलाइ भएको हो ।

जिल्लामा म्याग्दे गाउँपालिकाले मात्र जग्गा वर्गीकरण सम्पन्न गरी कित्ताकाट खुला गरेको छ । कित्ताकाट खुला गर्नेमा म्याग्दे  पहिलो बनेको छ । पालिकाले मालपोत , नापी र जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिमा जग्गा वर्गीकरण पुस्तक हस्तान्तरण गरेको छ ।

विसं २०७९ साउनबाट रोकिएको जग्गाको कित्ताबाट म्याग्दे गाउँपालिकामा खुलेको मालपोत कार्यालयका प्रमुख चिरञ्जीवी पौडेलले बताए। 

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको गत जेठ २७, साउन ३१, भदौ १९ र मङ्सिर ११ को परिपत्रबाट प्राप्त निर्देशनका साथै भूउपयोग ऐन, २०७६ को दफा ४ तथा भूउपयोग नियमावली, २०७९ को नियम ५, अनूसूची १ मा भएको व्यवस्थासमेतको आधारमा म्याग्देले जग्गा वर्गीकरण सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए। ‘जग्गा वर्गीकरण सम्पन्न भएपछि पुस्तिका प्रकाशित गरी नापी कार्यालय, मालपोत कार्यालय, सङ्घीय भूउपयोग परिषद्, नापी विभाग, प्रदेश भूउपयोग परिषद्मा पठाइएको छ’, उनले भने।

गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४  बमोजिम आम नागरिकको जानकारीका लागि उक्त विषय राजपत्रमा प्रकाशित गरिसकेको छ । प्रमुख मालपोत अधिकृत पौडेलले मन्त्रालयको निर्देशन समयमा नै पूरा गरेको जनाउँदै आम जनताको चासो तथा सरोकारको विषयमा देखाएको क्रियाशीलता सकारात्मक रहेको बताए। ‘तनहुँका अन्य पालिकाले पनि जग्गाको वर्गीकरण सम्पन्न गर्नेतर्फ लाग्नुपर्छ’, उनले भने।

जग्गाको वर्गीकरणसँगै गैरकृषि क्षेत्रमा चार आना एक पैसा र कृषि क्षेत्रमा दुई रोपनी जग्गाको कित्ताकाट गर्न बाटो खुलेको म्याग्देका अध्यक्ष श्रेष्ठले बताए। ‘यसले गर्दा आम जनतालाई ठूलो राहत पुग्ने विश्वास लिएका छौँ’, उनले भने।

जिल्लाको व्यास नगरपालिकाले जग्गाको वर्गीकरणका लागि १४ वटै वडामा पुगेर अन्तक्रिया सम्पन्न गरेको छ । नगरपालिकाले भू–उपयोग ऐनअनुसारको गैरकृषि क्षेत्रका जग्गाहरूको थप वर्गीकरण गर्न परामर्श सेवा लिने निर्णय गरेको प्रवक्ता कुमार गुरुङले बताए।

जिल्लाका अन्य केही गाउँपालिकाले पनि काम सुरु गरे पनि जग्गाको वर्गीकरण गर्न सकेका छैनन् ।