close

बागमति गाउँपालिकाकाे वडा नम्बर २ अन्तर्गतका तीन वटा समुदाय 'सुरक्षित खानेपानीयुक्त समुदाय' घोषित

बागमति गाउँपालिकाकाे वडा नम्बर २ अन्तर्गतका तीन वटा समुदाय 'सुरक्षित खानेपानीयुक्त समुदाय' घोषित

Trulli
ADVERTISEMENT

ललितपुर । बागमति गाउँपालिकाको वडा नम्बर २ लाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरेको छ । यूनिसेफ नेपालको आर्थिक सहयोग र शहरी वातावरण व्यवस्थापन समाज (यूम्स्)को सहकार्य र बागमति गाउँपालिकाकाे वडा  न‌म्बर २ काे आयोजनामा छहरे, गोगनघारी (बगुवा) र ठूलाभिर गरी तीन वटा समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरेको हो । 

यूनिसेफ नेपालको आर्थिक सहयोगमा  शहरी वातावरण व्यवस्थापन समाज (यूम्स्)ले सञ्चालन गरिरहेकाे Achieving Resilient and Safe Water  Communities in Urban and Peri Urban Areas of Lalitpur District " परियाेजना अन्तर्गत सो घोषणा गरिएको हो । 

माल्टास्थित श्री कालिदेवि उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा   बागमति गाउँपालिकाका अध्यक्ष बिरबहादूर लोप्चनकाे प्रमुख आतिथ्यता र वडा अध्यक्ष रामबहादुर भुलुन तामाङकाे अध्यक्षतामा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो । 

यूम्सका उपकार्यकारी निर्देशक गुहेश्वरी तुलाधरले सुरक्षित खानेपानीयुक्त समुदायको मान्यता पाउने न्यूनतम शर्तहरुको जानकारी दिनुका साथै परियोजना अन्तर्गत सुरक्षित खानेपानीयुक्त समुदाय घोषणाका लागि गरिएका प्रक्रियाहरु तथा कार्यहरुकाेबारे बताइन् ।

स्वास्थ्य कार्यालय, ललितपुरका गिता आचार्यले परियोजना क्षेत्र माल्टाका छहरे, गोगनघारी र ठूलाभिरका  खानेपानी गुणस्तर मापनअन्तर्गत स्वास्थ्य कार्यालयको टोलिबाट स्थलगत निरिक्षण गरिएको बताइन् । उनले तीनवटै समुदायमा सुरक्षित खानेपानीयुक्त समुदाय हुनका लागि आवश्यक न्यूनतम सूचकहरु पूरा भएको र पानी शुद्ध पाईएकाेले सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको बताइन् । 

 

 कार्यक्रममा यूनिसेफ नेपालका दक्षिण एशिया खानेपानी तथा सरसफाई विशेषज्ञ Nicole Klaesener-Metzner  ले स्वस्थ जीवनका लागि सुरक्षित खानेपानीको धैरै महत्व रहेको, अहिले सम्म नेपालमा ११६ समुदायहरु सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा भइसकेको जानकारी  गराए । 


बागमती गाउँपालिकाका अध्यक्ष लोप्चनले पालिकामा खानेपानीको गुणस्तर जाँचका लागि मिनी ल्याब स्थापना भएको जानकारी गराउँदै त्यसको निरन्तर संचालन गर्नको लागि आवश्यक सहयोग गर्न पालिका तयार रहेकोे बताए ।

 यूम्स्का कार्यकारी निर्देशक डा. मखन महर्जनले परियोजनाको सफल कार्यान्वयन र सुरक्षित खानेपानीयुक्त समुदाय बनाउन सहयोग र सहकार्य गर्नुहुने सबैलाई संस्थाबाट धन्यवाद दिए । उनले खानेपानी प्रणालीमा पानीको गुणस्तर अविच्छिन्न रुपमा सुनिश्चित गरि जनस्वास्थ्यको सुरक्षाका लागि खानेपानी सुरक्षा योजनाका चरणहरुको कार्यान्वयन निरन्तर हुनु अति आवश्यक रहेको र यसका लागि खानेपानी उपभोक्ता समितिको भूमिका महत्वपूर्ण हुने, लामो अवधिको प्रयास पश्चात भएको सुरक्षित खानेपानीयुक्त समुदायलाई नमूनाको रुपमा दिगो रुपमा कायम राख्न स्थानीय सरकार र अन्य सम्बन्धित सबैको सहयोग पनि आवश्यक रहने बताए ।  

वडा अध्यक्ष तामाङले आफनो वडाका तीनवटा समुदायहरु ललितपुर जिल्लाकै पहिलो सुरक्षित खानेपानीयुक्त समुदाय भएकोमा खुसी व्यक्त गर्दै २ नं वडाका अरु समुदायहरुलाई पनि व्यवस्थित बनाउनको लागि सक्दो पहल गर्ने र यस कार्यमा वडाका सबै जनसमुदायहरुको सहयोगको अपेक्षा व्यक्त गरे ।

कार्यक्रमको अन्तमा बागमति गाउँपालिकाका अध्यक्ष बिर बहादूर लोप्चनले प्रतिबद्धता जाहेर गर्दै पालिकाका ३ वटा समुदायहरु छहरे, गोगनघारी र ठूलाेभिर सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा भएको जानकारी गराउनु भयो । सो कार्यक्रममा करिव २५० जनाको उपस्थिति रहेको थियो ।

आपसी सहकार्य तथा खानेपानी सेवाका सेवा–प्रदायक, उपभोक्ता, स्थानीय सरकार र नियमन तथा निगरानी गर्ने निकायहरु लगायतका सबै सरोकारवालाहरूको सामूहिक प्रयासमा भएको यस परियोजनाको सफल कार्यान्वयनले दिगो विकास लक्ष्य ६ अन्तर्गतको लक्ष्य ६.१ सन् २०३० सम्ममा हासिल गर्नमा थोरै भएपनि सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । यस किसिमको परियोजना अरु समुदायहरुमा पनि संचालन गर्न आवश्यक  रहेको युम्सले जनाएको छ ।

 

सो कार्यक्रममा स्वास्थ्य कार्यालय ललितपुरका गिता आचार्य, यूनिसेफका दक्षिण एशिया खानेपानी तथा सरसफाई विशेषज्ञ निकोल क्लेसनर मेट्जनर, यूनिसेफ नेपालका खानेपानी तथा सरसफाई विशेषज्ञ अरनिता मास्के श्रेष्ठ, ललितपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सरिता महर्जन, बागमती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समिर श्रेष्ठ, माल्टा २ नं वडा स्वास्थ्य चौकीका राजमान रन्जितकार, तीनवटै खानेपानी उपभोक्ता समितिहरुका अध्यक्ष तथा पदाधिकारीहरु, खानेपानी सुरक्षा योजना टोली, श्री कालिदेवि उच्च माध्यमिक विद्यालयका प्रधान अध्यापक लगायत शिक्षक–शिक्षिकाहरु र विद्यार्थीहरु, वातावरण तथा जनस्वास्थ्य संस्थाका प्रतिनिधि लगायत स्थानीयवासीहरुको सहभागिता रहेकाे थियाे।