close

वडाले जग्गा लिजमा लिएर किसानलाई दिने

वडाले जग्गा लिजमा लिएर किसानलाई दिने

Trulli
ADVERTISEMENT

दाङ ।  तुलसीपुर उपमहानगरपालिका–११ ले वडाका गरिब परिवारलाई लिजमा जग्गा दिने भएको छ । छ महिनासम्म खाना नपुग्ने गरिब घरपरिवार पहिचान गरी प्रत्येक परिवारलाई पाँच कट्ठाका दरले जग्गा दिने भएको छ । 

वडाले उत्तरधारा जलाशय निर्माण गरिसकेकाले त्यस आसपासको २० बिघा जग्गा लिजमा लिएर किसानलाई उत्पादनका लागि उपलब्ध गराउने तयारी रहेको वडाध्यक्ष मानबहादुर रावतले बताए । 'हाम्रो वडामा अधिकांश खेती किसानी गरेर जीवन निर्वाह गर्ने समुदाय छ', उनले भने, 'उहाँहरुको जीवन निर्वाहकालागि हामीले यो योजना अघि बढाएका हौँ ।' 

त्यसका लागि सूचनासमेत प्रकाशन गरिएको छ । फागुन महिनासम्म सूचना आह्वान गरिएको र त्यसपछि गरिब घरपरिवार तथा बेरोजगारको मूल्याङ्कन गरेर जग्गा दिने उनकाे भनाइ छ । 'हामीले प्रत्येकलाई पाँच कट्ठा जग्गा दिने छौँ', अध्यक्ष रावतले भने, 'त्योबापत कुनै रकम पनि लिइनेछैन ।' किसानलाई त्यो जग्गामा फलफूल तथा तरकारी खेती गर्नुपर्नेछ । उत्पादन भएको तरकारी बजारीकरण गर्ने जिम्मा पनि वडाले नै लिने वडाध्यक्ष रावतको भनाइ छ ।

उत्पादन भएको तरकारी बजारीकरणमा पनि उत्तिकै समस्या रहने गरेको भन्दै त्यसलाई बजारीकरणमा पनि वडाले नै जिम्मा लिने उनले बताए । बीउ, मलमा पनि सहयोग गर्ने उनले बताए । त्यहाँ करिब २० बिघा क्षेत्रफलमा सिँचाइ गर्न जलाशय निर्माण भएको र त्यसलाई लिफ्टमार्फत खेतमा पु¥याउने तयारी छ । करिब रु ३० लाखमा त्यहाँ जलाशय निर्माण गरिएको हो ।  

वडाले किसानलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । केही समय अघि उत्पादित कृषिजन्य वस्तु घोडामार्फत बजार लैजाने व्यवसायीलाई प्रोत्साहनस्वरुप रु १० हजार उपलब्ध गराइएको थियो । त्यस्तै भैँसीपालन व्यवसायीलाई पनि प्रोत्साहन गर्ने तयारी रहेको वडाध्यक्ष रावतले बताए ।  व्यावसायिकरुपमा भैँसीपालन व्यवसाय गरेकालाई दानाका लागि सहयोग गर्ने उनले बताए।