close

जनयुद्धका शहीद र बेपत्ताजनका परिवारलाई मासिक भत्ता वितरण

जनयुद्धका शहीद र बेपत्ताजनका परिवारलाई मासिक भत्ता वितरण

Trulli
ADVERTISEMENT

बागलुङ। ताराखोला गाउँपालिकाले आइतबार जनयुद्धका शहीद र बेपत्ताजनका २७ परिवारलाई मासिक भत्ता वितरण गरेको छ ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले प्रति परिवारलाई मासिक रु एक हजारका दरले आठ महिनाको एकमुष्ठ भत्ता रु आठ हजार प्रदान गरेका हुन्।

शहीद र बेपत्ताजनका परिवारलाई भत्तासँगै ‘हटकेस’ पनि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । सोही समारोहमा गाउँपालिकाभित्रका ४० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । ज्येष्ठ नागरिकलाई उपहारस्वरुप ‘थर्मस’ पनि प्रदान गरिएको थियो ।

यस्तै जनयुद्धका बेला बन्दी जीवन बिताएका गाउँपालिकाका १७ जनालाई सम्मान गरिएको छ । मन्त्री चुमानले उनीहरुलाई दोसल्ला र सम्मानपत्र प्रदान गरेका छन्। सो अवसरमा मन्त्री चुमानले राजनीतिक परिवर्तनमा ताराखोलाका बासिन्दाले अग्रगामी भूमिका खेलेको बताए। 

उनले गाउँपालिकाले जनमुखी योजना र कार्यक्रममार्फत समृद्धि ताराखोलाको लक्ष्य पछ्याएकामा खुसी व्यक्त गरे। मन्त्री चुमानले गाउँपालिकाको केन्द्र जोड्ने शहीद मार्गको कालोपत्रका लागि प्रदेश सरकारबाट सक्दो बजेटको प्रबन्ध गरिने प्रतिबद्धता जनाए।

जनयुद्धमा जीवन गुमाउने शहीद र बेपत्ताजनको सम्मानका लागि मासिक भत्ता दिन थालिएको गाउँपालिका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले बताए। ‘रकम थोरै भए पनि शहीदको योगदानको कदर गर्न खोजिएको छ, यो सुरुआत मात्र हो, पछि भत्ता रकम वृद्धि पनि हुँदै जाला’, उनले भने।

गाउँसभाले बनाएको कार्यविधिअनुसार शहीद र बेपत्ताजनका परिवारलाई भासिक भत्ता दिन थालिएको हो । ताराखोला जनयुद्धबाट बढी प्रभावित क्षेत्र हो । युद्धमा परी त्यहाँका २६ जनाले ज्यान गुमाएका छन् भने दुई जना बेपत्ता छन् ।

यस्तै गोली नै लागेर गम्भीर घाइते भई अपाङ्गता भएकाको सङ्ख्या १३ र सामान्य घाइतेको सङ्ख्या २२ रहेको जनाइएको छ । गाउँपालिकाको चालु आवको नीति तथा कार्यक्रममा पनि जनयुद्धबाट प्रभावित परिवार र तिनका सदस्यलाई मासिक भत्ता उपलब्ध गराउने उल्लेख थियो । गाउँपालिकाले शहीद, बेपत्ता तजा घाइतेजनका परिवारलाई लक्ष्य गरी स्वरोजगारमूलक कार्यक्रम सञ्चालनको पनि तयारी गरेको छ ।