close

काभ्रेपलाञ्चोकका भूमिहीनलाई लालपुर्जा दिने तयारी

काभ्रेपलाञ्चोकका भूमिहीनलाई लालपुर्जा दिने तयारी

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा दिने तयारी गरिएको छ ।  जिल्लास्थित राष्ट्रिय भूमि आयोगको कार्यालयको सिफारिसमा २७ वर्षअघि निर्णय गरिएकामध्ये बाँकी १९ परिवारलाई लालपुर्जा दिइने भएको हो । 

आयोगको तत्कालीन काभ्रेपलाञ्चोक–सिन्धुपाल्चोक जिल्ला समितिको धुलिखेलस्थित कार्यालयले विसं २०५२ मा गरेको निर्णयका आधारमा १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा दिने तयारी गरिएको आयोगका जिल्ला सदस्य रामबहादुर तामाङले जानकारी दिए । उनका अनुसार तत्कालीन समयमा निर्णय गरिएका एक सय २७ भूमिहीन परिवारलाई यसअघि नै लालपुर्जा दिइसकिएको छ । 
    
हाल बाँकी रहेका १९ परिवारलाई निर्णयाअनुसार लालपुर्जा दिन मालपोत कार्यालयले श्रेस्ता भिडाउने काम गरिरहेको छ । कार्यालयले १९ मध्ये छ जनाको जमिनको श्रेस्ताबारे आयोगको कार्यालयसँग थप कागजात मागेको उनले बताए। 'सबै प्रक्रिया अन्तिम चरणमा पुगेको छ, केही हप्ताभित्र जिल्लाका १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा प्रदान गर्दैछौँ', उनले भने । 
    
काभ्रेका भूमिहीन परिवारले विसं २०५२ मा गरेको निर्णयका आधारमा दिइएको परिमाणको जमिन भोगचलन गर्दै आएका थिए । 'म २०५२ सालदेखि मलाई दिने भनिएको १९ रोपनी जमिनमा घरसमेत बनाई भोगचलन गर्दै आएको छु, अहिले लालपुर्जा पाउने आशामा बसेको छु', मण्डनदेउपुर नगरपालिका–४ का सङ्गेसिं तामाङले भने ।  
    
सरकारले आयोगलाई भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड तोक्ने, स्थानीय तहबाट लगत सङ्कलनको लागि आवश्यक कार्यविधि र ढाँचा तयार गरी स्वीकृत गर्ने, तिनको पहिचान, लगत सङ्कलन र प्रमाणीकरणको काम स्थानीयतमार्फत गर्ने, सम्बन्धित मालपोत कार्यालयसँग समन्वय गरी सम्बन्धित नापी कार्यालयबाट जग्गा नापजाँच गरी नक्सा श्रेस्ता तयार गर्ने गराउने अधिकार दिएको छ । 
    
सरकारले करिब तीन दशकअघि आयोग गठन गरेको थियो । सरकारले आयोगमार्फत पटकपटक भूमिहीनबारे लगत सङ्कलन कार्यको आह्वान गरेपछि काभ्रेपलाञ्चोकको छ नगर र सात गाउँपालिकाका करिब तीन हजारले जिल्लास्थित आयोगको कार्यालयबाट फारम लगेको जनाइएको छ ।