close

बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो नियन्त्रणको काम सुरु

बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो नियन्त्रणको काम सुरु

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो नियन्त्रणको काम सुरु भएको छ । गतवर्ष भदौ ११ गते चुरेडाँडाबाट आएको पहिरोले क्षति पू¥याएको बुटवल वडा नम्बर ३ को मिलनपथ र ज्योतिनगर तथा वडा नम्बर ४ को लक्ष्मीनगरको प्रभावित क्षेत्रमा चेकड्याम, रिटर्निङ्ग वाल, ग्याबिन जाली, बक्स कल्भर्ट निर्माणको काम सुरु भएको हो । 


पहिरो प्रभावित क्षेत्रको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडा नं. ३ का अध्यक्ष विष्णु ढकाल, स्थानीयबासिन्दासहितको टोलीले अवलोकन गरी निर्माणलाई तीब्रता दिने र थप सुरक्षाका उपायका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने भएको हो । 

प्रभावित क्षेत्रको अवलोकनपछि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पहिरोबाट बस्ती जोगाउनका लागि सबै प्रयास गरिने बताए । उनले आगामी वर्षायाममा स्थानीयलाई जोखिम हुन नदिनका लागि पहिरो नियन्त्रण गर्ने, पहिरोसहित आएको लेदो बग्ने नाली बनाउने, सुरक्षाका लागि पर्खाल लगाउनेजस्ता काम सुरु भएको बताए । 

उनले पहिरोले बस्तीमा झारेको लेदो हटाउने र चुरेबाट सिर्सिने र भल बनेर बग्ने पानीको वहावलाई बस्ती भन्दा बाहिरै फर्काउन विभिन्न ठाउँमा चेक ड्याम र खोल्सी बनाउने काम सुरु भएको बताए । 


‘यो क्षेत्रका बासिन्दाले सुरक्षित रुपमा बस्न पाउने अधिकार सुरक्षित गर्नका लागि हामीले सक्दो प्रयास गरेका छौं, उनले भने, 'यो पहिरोको जोखिम धेरै नै ठूलो हुनसक्ने भएकाले यसमा प्रदेश र संघले पनि हामीलाई साथ दिनुपर्छ, हामी सँगसँगै यो पहिरो नियन्त्रण गर्न सक्छौं ।’ 

अहिले ज्योतिनगर र मिलन पथ क्षेत्रमा पहिरोले थुपारेको डुंगामाटो हटाउने र नाली बनाएर सम्भावित बाढी तर्काउने काम जारी रहेको बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्याले बताए । 

पहिरो नियन्त्रणका लागि चालु आर्थिक वर्षमा बुटवल उपमहानगरपालिका र संघीय सरकारको अनुदानअन्तरगत ४ करोड ५० लाख र विपद प्राधिकरणमार्फत् ४५ लाखमा चेकड्याम, रिटर्निङ्ग वाल, बक्स कल्भर्टलगायतका जोखिम न्यूनीकरण गर्ने गरी काम भइरहेको शहरी पूर्वाधार महाशाखाका अधिकृत गोविन्द पंगेनीले बताए । 

यसवर्ष भएको कामले विगतमा जस्तो बाढीको जोखिम नहुने ज्योतिनगर मिलनपथ पहिरो नियन्त्रण समितिका अध्यक्ष दीपक थापा पुलामीले बताए । 

‘बुटवल उपमहानगरपालिकाबाट अहिले पहिरो नियन्त्रणका लागि एकदमै चासो दिनुभएको छ, उनले भने, 'गएको वर्षायाममा निरन्तरको प्रयासले बाढीपहिरो बस्तीमा पस्न पाएन, आगामी वर्षायामहरुमा पनि जोखिम कम गर्ने र बस्तीलाई सुरक्षित बनाउन सबै प्रयास गर्छौं भन्नुभएको छ, यसले हामी यहाँका बासिन्दालाई सुरक्षित महसुस गराएको छ ।’

ज्योतिनगर पहिरोको जोखिम न्यूनीकरण गर्नका लागि यसपटक बुटवल उपमहानगरपालिकाले थालेको प्रयासले बस्ती सुरक्षित हुनेमा स्थानीय खगेश्वर न्यौपाने विश्वास व्यक्त गर्छन् । 

‘विगतमा जसरी क्षति भयो, अब त्यस्तो क्षति हुनेछैन भन्ने विश्वास हामीलाई लागेको छ, उहाँले भन्नुभयो–रातदिन खटेर भएपनि जोखिम कम गर्न प्रयास गर्छौं भन्ने कुराले हामीलाई विश्वास लागेको छ ।’

गतवर्षको पहिरोले १५ घर पूर्ण क्षति भएको थियो भने ३० घर आंशिक क्षति भएको थियो । १२ घरमा लेदो छिरेर सामान्य क्षति पुगेको थियो ।