close

भवन जीर्ण बन्दा व्यापारीलाई समस्या

भवन जीर्ण बन्दा व्यापारीलाई समस्या

Trulli
ADVERTISEMENT

कैलाली । टीकापुर नगरपालिका परिसर बाहिर निर्माण गरिएको व्यापारिक भवन निर्माण सम्पन्न भएको एक दशक नबित्दै जीर्ण बन्दै गएको छ । 

निर्माण सम्पन्न भएको एक दशक मै भवन जीर्ण भएपछि भाडामा बस्दै आएका व्यापारी त्रसित भएका छन् । गर्मीयाममा धुलो झर्ने र वर्षातको समयमा चुहिने समस्याले व्यापारी आजित बनेका हुन् । १० वर्षदेखि सोही भवनको सटर भाडामा लिएर व्यापार गर्दै आएका मदिना फेन्सी स्टोरका सञ्चालक नारायण न्यौपानेले पटकपटक नगरपालिकालाई मर्मतका लागि आग्रह गर्दा पनि त्यसको सुनुवाइ नभएको बताए । 

 'दुई÷तीन वर्ष भइसक्यो भवन निकै जीर्ण बन्दै गएको छ, वर्षातको समयमा पानी चुहिने, गर्मीमा बालुवा र माटो झर्ने हुँदा सामान जोगाउनै मुस्किल छ', न्यौपानेले भने, 'सार्वजनिक सम्पत्तिमा मनोमानी गर्ने निर्माण कम्पनी र निगरानी गर्ने नगरपालिकाका इञ्जिनियरले आफ्नो घर पनि त्यस्तै बनाएका होलान् त ?'

    उक्त भवनमा १३ कोठा छन् । सबै कोठाको अवस्था त्यस्तै छ । छतको तल्लो भागको पलास्टर झरेर प्रयोग भएका फलामका सरिया देखिन थालेका छन् । भुइँको पलाष्टर निस्किएर खाल्डा परेका छन् । नगरपालिकालाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि आफूले दुई वर्षदेखि भाडा नतिरेको रितुराज फेन्सी स्टोरकी सञ्चालिका रीता घिमिरे बताउँछन् । 

    भवनकै कारण बिक्रीका लागि राखिएको सामानको बिजोग भएको भन्दै घिमिरेले भवन मर्मत सम्भार भएपछि मात्रै भाडा तिर्ने भनेर नगरपालिकालाई जानकारी गराएको बताए । 'कोठा छाडेर जान हुन्थ्यो, छाडेर पनि कता जाने रु वर्षौदेखि त्यहीँ बसेर व्यापार गरियो', उनले भने, 'अझै वर्षातको समयसम्म भवन मर्मत सम्भार नभए छाड्नुपर्ने बाध्यता नै छ, विगत जसरी बिताए पनि दिनप्रति दिन सामान जोगाउन मुस्किल हुँदै गएको छ ।'

    अर्का व्यापारी तिलक पुनमगरले भवन निर्माण गर्ने निर्माण कम्पनी र नगरपालिकाबाट अनुगमन गर्ने इञ्जिनियरलाई कारबाही गर्नुपर्ने बताए । उनले निर्माण कम्पनीको लापरबाहीका कारण भवन एक दशक नपुग्दै जीर्ण बनेको बताए । पुनमगरले भने, 'राज्यको करोड रुपैयाँ खर्च गरेर बनेका संरचना छिट्टै जीर्ण हुने तर तिनै इञ्जिनियरले दिएको नक्साअनुसार बनेका निजी संरचना बलिया कसरी हुन्छन् रु, खर्च त निजीभन्दा सरकारीमा बढी भएको हुन्छ ।'

    नगरपालिकाको राजस्व उपशाखा प्रमुख डिला उपाध्याय रेग्मीले भवनका बारेमा पटकपटक जनप्रतिनिधि र कार्यालय प्रमुखलाई जानकारी गराएको भए पनि काम अगाडि बढ्न नसकेको बताए । उनले व्यापारीले राजस्व शाखामा पटक–पटक गुनासो ल्याएर आएको जनाउँदै त्यसलाई माथिल्लो तहमा आफूले पु¥याएको बताए । 

    व्यापारीबाट गुनासो आउन थालेपछि भवनको नगरपालिकाले अनुगमन गरेको छ । नगर प्रमुख रामलाल डङ्गौरा थारुले भवनको मर्मत सम्भारको नगरपालिकाले प्रक्रिया अगाडि बढाएको बताए । उनले केही दिनमै भवनको काम अगाडि बढ्ने आश्वासन दिए ।