close

थापाथली टेकु दोभान खण्डका सम्पदाको पुननिर्माणका तीन चरण

थापाथली टेकु दोभान खण्डका सम्पदाको पुननिर्माणका तीन चरण

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले थापाथली — टेकु दोभान खण्डमा पुननिर्माण गरिएका सम्पदाहरुको विवरण महानगरमा पठाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई आग्रह गरेकी छिन्। २०७२ सालको भूकम्पले जीर्ण भएपछि पुननिर्माण गरिएका सम्पदा हस्तान्तरण र उपयोगका विषयमा बिहिबार थापाथलीस्थित धर्मशालामा सम्पन्न साझेदारहरुको बैठकमा उनले यस्तो आग्रह गरेकी हुन्।

सम्पदा क्षेत्रको संरक्षण, व्यवस्थापन र प्रवर्धन गर्ने दायित्व महानगरको भएको उल्लेख गर्दै उनले भनिन्, ‘यस क्षेत्रमा सम्पदा र पुननिर्माण सम्बन्धी समितिमा भएका विवरण पठाइदिनोस् । त्यसका आधारमा सम्पदाहरुको एकीकृत संरक्षण, व्यवस्थापन र प्रवर्धनका विषयमा छलफल गरेर निर्णय लिन्छौँ ।’

थापाथली देखि टेकु दोभानसम्म एशियन विकास बैङ्कको ऋण सहायताबाट ३ चरणमा नदी सुधार परियोजना सञ्चालन भइरहेको छ । परियोजनाको पहिलो चरणमा टेकुदोभानदेखि टेकु पुलसम्मका जीर्ण सम्पदा पुननिर्माण तथा मर्मत सम्भार भएका छन् । यस चरणमा पुननिर्माण भएका ११ वटा सम्पदा गुठी संस्थान र निजी गुठीलाई हस्तान्तरण गरिसकिएको छ । शिव मन्दिर, लक्ष्मेश्वर सत्तल, पुजारी सत्तल, पुरोहित घाट सत्तल, वेष्ट सत्तल, राजभण्डारी सत्तल, मानन्धर सत्तल, कार्की सत्तल, मुन्सीघाट सत्तल, पञ्चनारीघाट सत्तल र लक्ष्मेश्वर मन्दिरको सवलीकरण गरिएको छ । यसका लागि करिब ३७ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । 

दोस्रो र तेस्रो चरणमा चरणमा टेकु पुलदेखि टुकुचा बागमती दोभान हुँदै थापाथली पुलसम्मको खण्डमा पर्ने सम्पदा पुननिर्माण, मर्मत सम्भार र नदी क्षेत्रको सुन्दरता बढाउने पूर्वाधार निर्माण भइरहेका छन् । दोस्रो चरणको काम गर्न करिब ४० करोड रुपैयाँ र तेस्रो चरणको काम गर्न करिब ३५ करोड रुपैयाँ लागतमा अनुमान गरिएको छ । 

‘महानगरभित्र भएका सम्पदाहरुको एकीकृत व्यवस्थापन गर्ने दायित्व काठमाडौँ महानगरपालिकाको हो । हामी यसको जिम्मा लिन्छौँ ।’ छलफलमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भने, ‘पुननिर्माण गरिएका ठाउँमा भएका अन्य सम्पदाको अवस्थालाई छोड्न मिल्दैन । यसकारण आंशिक होइन एकीकृत रुपमा सम्पदा संरक्षण र व्यवस्थापनका काम गर्नुपर्छ । यसको दायित्व महानगरको हो । यसका लागि हामी यथार्थ अवस्था बुझ्न चाहन्छौँ ।’

बैठकमा महानगरका शिक्षा सल्लाहकार रेशु अर्यालले परम्परागत सामाजिक उपयोगसँगै नदी किनारा क्षेत्रलाई विद्यार्थीहरुका लागि वातावरण शिक्षाको व्यवहारिक ज्ञान दिने ठाउँका रुपमा विकास गरिनुपर्ने धारणा राखिन् । 

छलफलमा पुननिर्माण गरिएका निजी गुठीको उपयोगलाई सामुहिक प्रयोगमा ल्याउने विषयमा छलफल भएको थियो । छलफलका लागि बागमती सुधार आयोजनाका उप आयोजना निर्देशक रमिता श्रेष्ठले अहिलेसम्म भएका कामको प्रगति र अवको आवश्यकताका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । 

यस क्षेत्रम सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका प्राचीन सम्पदा छन् ।  ती मूर्त सम्पदाहरुको कुनै न कुनै रुपमा सामाजिक जीवनका चालचलन, रीतिथिति र परम्परासँग सम्बन्धित छन् । सम्पदाहरुको इतिहास, धर्म, संस्कृति र सामाजिक जीवनसँग सम्बन्धित कथा छन् । 

मानव निर्मित प्राचीन भौतिक संरचना, तिनको बनावट र महत्वसँग प्राकृतिक सम्पदाको निकट सम्बन्ध भएको ठाउँ हो । प्रमाणित तथ्य र प्रामाणिक अभिलेख नभएका सम्पदासँग जनश्रुति र कथनसँग सम्बन्धित कथा छन् । दुई किलोमिटर दुरीभित्र भएका भकारी, अखडा, मन्दिर, घाट, देवलका चाखलाग्दा पक्ष कलाकारिता, सभ्यता र पर्यटनबाट उजागरका लागि स्रोत हुन् । यसरी हेर्दा नदी खण्डलाई मूर्त, अमूर्त र प्राकृतिक सम्पदाको त्रिवेणी मान्न सकिन्छ । 

छलफलमा सहरी विकास मन्त्रालयका सिनियर डिभिजन इञ्जिनियर राजेन्द्र खतिवडा, महानगरको सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्रबहादुर खड्का, बागमती सुधार आयोजनाका निर्देशक रविन्द्र वोहरा, एडिवीका सिनियर सिनियर प्राजेक्ट अफिसर अरुण रानालगायत अधिकारीहरु सहभागी थिए । 

छलफलपछि पुननिर्माण भएका सम्पदाको अवलोकन गरिएको थियो । छलफल र अवलोकनको महानगरको सम्पदा तथा पर्यटन विभागका उपनिर्देशक श्रीजु प्रधानले गरेकी थिइन्।