close

घरमै पुगेर अपाङ्गता परिचयपत्र

घरमै पुगेर अपाङ्गता परिचयपत्र

Trulli
ADVERTISEMENT

तनहुँ । व्यास नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि परिचयपत्र वितरण कार्यलाई तीव्रता दिएको छ । नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले अति अशक्त भएका व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेका छन् ।

   उपप्रमुख दरैले शुक्रबार लामो समयदेखि ओछ्यान पर्नुभएकी व्यास–१२ का ५४ वर्षीया चिजामाया क्षेत्रीलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेका हुन्। अति अशक्त अवस्थाकी चिजामायालाई उपप्रमुख दरैले घरमै पुगेर ‘क’ वर्ग (अति अशक्त) को परिचयपत्र दिएका छन्। अति अशक्त भएका व्यक्तिलाई पालिकासम्म पुग्न समस्या हुने भएकाले घरमै पुगेर परिचयपत्र वितरण गरिएको उनले बताए । स्थानीय तहको सेवा घरघरमा पुगेर गर्दा सिंहदरबारको सेवा पाएजस्तो अनुभूति दिलाउनुपर्छ भन्ने मान्यता रहेको उनको भनाइ छ । 

    नगरपालिकाको शिक्षा तथा सामाजिक विकास शाखा महिला, बालबालिका तथा सामाजिक उपशाखा प्रमुख राधा आचार्यले पालिका वा वडासम्म पुग्न सक्ने व्यक्तिलाई बोलाइने र अति अशक्तलाई घरमा नै पुगेर सेवा प्रवाह गर्दै आएको जानकारी दिए। उनका अनुसार अति अशक्त अवस्थाका अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर परिचयपत्र प्रदान गरिएको छ । 

    त्यस्तै व्यास–१० का ५२ वर्षीय दानबहादुर दरैलाई अति सशक्त परिचयपत्र विरतण गरिएको छ । अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा सेवा प्रवाह गर्न घरमै पुगेर परिचयपत्र प्रदान गरिएको हो । घरमै आएर सेवा परिचयपत्र दिँदा सिंहदरबारको सेवा घरघरमा आएको महसुस भएको दानबहादुर बताउँछन् । 'हिँड्डुल तथा शौचका लागिसमेत जान नसक्ने अशक्त व्यक्तिलाई सहयोग पुगेको छ, यसमा हाम्रो पनि कोही छ भन्ने लागेको छ', उनले भने । 

    शाखाप्रमुख आचार्यका अनुसार हालसम्म नगरपालिकाभित्रका आठ सय पाँच जनालाई विभिन्न वर्गका अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । नगरपालिकाका आठ सय पाँचजनालाई क, ख, ग र घ वर्गको परिचयपत्र वितरण गरिएको जनाइएको छ । हाल परिचयपत्र वितरणको कार्यक्रम भइरहेको छ ।