close

हिमाल सफा गर्ने टाेलीलाई महानगर लोगो अङ्कित झन्डा हस्तान्तरण

हिमाल सफा गर्ने टाेलीलाई महानगर लोगो अङ्कित झन्डा हस्तान्तरण

Trulli
ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिकाले अन्नपूर्ण हिमालको सफाइका लागि जान लागेको नेपाली सेनाको टोलीलाई महानगरको लोगो अङ्कित झन्डा हस्तान्तरण गरेको छ । महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले सफाइ टोलीको नेतृत्व गरेका क्याप्टेन भीम बहादुर भुजेललाई सो झण्डा हस्तान्तरण गरेको हो । 

 प्रमुख आचार्यले पोखराको पहिचानसँग जोडिएका हिमालहरूको सफाइ अभियानमा महानगरपालिकाको साथ रहेको बताए ।  'पोखरा माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि लगायतका हिमश्रृखलाहरुको काखमा रहेको सहर हो,'  प्रमुख आचार्यले भने, 'हिमाल विनाको पोखरा हामी कल्पना सम्म पनि गर्न सक्दैनौँ ।'

सर्वसाधारणहरूको सहज पहुँच नपुग्ने र भौगोलिक तथा वातावरणीय अवस्थाका कारण पनि सफाइमा कठिनाइ हुने भएकाले यस कार्य लागि नेपाली सेनाले देखाएको तत्परता सह्रानीय भएको प्रमुख आचार्यले बताए । सफा हिमालका लागि थालिएको यस अभियानमा सफाइकर्ताहरूको हौसलाका लागि पोखरा महानगरपालिकाको तर्फबाट नगद १५ लाख रुपैयाँ सहयोग गरिने उनले बताए ।


नेपाली सेनाको पश्चिम पृतना विजयपुरका पृतनापति एवं उपरथी (मेजर जनरल) दीपक कुमार बानियाँले नेपाली सेनाको स्वच्छ हिमाल अभियान अन्तरगत यस वर्ष अन्नपूर्ण हिमालको पनि सफाइ गर्न लागिएको बताए । हिमाल र ती हिमालहरूको बेस क्याम्पहरूमा बढिरहेको मानवीय क्रियाकलापका कारण थुप्रिएको फोहोर व्यवस्थापन वातावरणीय दृष्किोणले पनि चुनौती र चिन्ताको विषय बनिरहेको उनले बताए ।