close

विपन्नका लागि बनाइएका घर प्रयोगविहीन

विपन्नका लागि बनाइएका घर प्रयोगविहीन

Trulli
ADVERTISEMENT

दाङ । बङ्गलाचुली गाउँपालिकाले विपन्न नागरिकलाई  निर्माण गरेको घर प्रयोगविहीन भएका छन् । गाउँपालिकाले विपन्न नागरिकलाई राहत दिन निर्माण गरेको घर प्रयोगविहीन भएको हो । 

 पालिकाको वडा नं २, ५, ६ र ८मा  प्रति घर रु १० लाखको लागतमा ३० घर निर्माण भएका थिए ।  ती वडामा  दुई कोठे घर निर्माण गरिए पनि अझैसम्म कोही पनि बस्न गएका छैनन् ।वडा नं २ स्थित  बढीपोखरामा  छ घर  र वडा नं ८ स्थित  हाँसीपुरमा रहेको जङ्गलको डाँडामा छ घर निर्माण गरिए   पनि ती घर खाली छन्   ।


घर निर्माणपछि वडा कार्यालयले गरिब तथा असहाय परिवार पहिचान ग¥यो तर पहिचान भएका कोही पनि ती घरमा बस्न जान इच्छुक भएनन् । पूर्ववडाध्यक्ष गिरिराज बाँठाका अनुसार सुरुमा स्थानीय दुई तीन परिवार बस्न थालेका थिए तर पछि उनीहरूले पनि छाडेका हुन् । यी घर बनाइएको ठाउँमा कुनै व्यवसाय गरेर बस्न सकिने अवस्था छैन । 

 नजिक मानवबस्ती नभएको थलोमा गएर कोही पनि बस्न राजी नभएका हुन् । 'गरिबका लागि भनेर बनाइएका घरका झ्यालढोका फुटेर जीर्ण छन्,' उनले भने, 'कोही पनि बस्न तयार नभएकाले घरहरू बेकम्माका बनेका छन् ।' यसैगरी वडा नं ५ मा पनि बनाइएका १२ घरमध्ये चारवटा घरमा मात्रै मानिस बसेका छन् ।  त्यहाँका वडाध्यक्ष लिले घर्तीले भने, 'माथिल्लो भेग मानव बस्तीदेखि टाढा  रहेका कारण बाँकी घरमा कोही बस्न नमानेको हुनसक्छ ।'

वडा नं ६ मा बनेका छ घरमध्ये तीनवटा प्रयोगमा आएका र बाँकी घर जीर्ण बन्दै गएका छन् । स्थानीयवासी  भुवन केसीले भने, 'पालिकाले बनाएका घर बस्नयोग्य नभएकाले कोही बस्न राजी भएनन्।' ती घरका लागि  रु तीन करोड खर्च भएको थियो । 

ती ३०घरमध्ये प्रत्येक दुईवटा घरका लागि  १५ वटा शौचालय पनि बनाइएको थियो । ती  घर निर्माण गर्ने ठेक्का घोराहीस्थित माइन स्टोन कम्पनीले पाएको थियो । 

यसैबीच अघिल्लो नेतृत्वले बनाएका घरमा बस्न अहिलेको नेतृत्वले पनि गरिब परिवारलाई आह्वान गरिरहेको छ । 'बेसहारा  तथा विपन्नलाई पालिकाले बनाएका घरमा बस्न आउनुस् भनिरहेका छौँ,' पालिका अध्यक्ष तुलसीराम पुनले भने, 'रित्ता घरमा अहिलेसम्म कोही बस्न आएको अवस्था छैन । प्रयोगमा ल्याउन सके ठूलो रकम खर्चेर बनाइएको सार्वजनिक सम्पत्तिको उपयोग हुने थियो ।'

घर नभएकालाई घरको व्यवस्था गरेका थियौँ उनीहरुले महत्व बुझ्न सकेनन् । आर्थिक वर्ष २०७५/७६ मा नमुना बस्ती निर्माण योजनाअनुसार गरिब तथा असहाय परिवारका लागि घर बनाउन सङ्घीय सरकारले रु दुई करोड दिएको थियो । गाउँपालिकाले एक करोड थपेर ती  चारवटा वडामा दुई–दुई कोठे भूकम्प प्रतिरोधी घर बनाएको थियो ।