close

पाेखरामा स्मार्ट सार्वजनिक शौचालय बनाइने

पाेखरामा स्मार्ट सार्वजनिक शौचालय बनाइने

Trulli
ADVERTISEMENT

कास्की । पाेखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण सुरु भएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले सार्वजनिक शौचालय बनाउन पोखरा महानगरसँग साझेदारी गरेको हो । 

महानगर प्रमुख धनराज आचार्यले सार्वजनिक शौचालय निर्माणको सोमबार शिलान्यास गरेका छन् । महेन्द्रपुलको उत्तरतर्फ रहेको पाँच आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माण हुनेछ ।

 यसमा एनआरएनएले रु ६० लाख र पोखरा महानगरपालिकाले रु ४० लाख लगानी गर्नेछन् । महानगरपालिकामा हाल १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालय छन् । 

महेन्द्रपुलको दक्षिण भागमा भने महानगरपालिकाले अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माणको तयारी गरेको छ । त्यसको शिलान्यास आगामी वैशाख १ गते गरिनेछ । त्यहाँ संयुक्त राष्ट्र सङ्घमा आवद्ध एक सय ९३ देशसहित साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाको झन्डासमेत राखिने महानगरले जनाएको छ । पार्ककोबीच भागमा नेपालको सबैभन्दा ठुलो झन्डा राखिनेछ । विशेष अवसरमा झण्डात्तोलनका लागि सोही स्थानमा कार्यक्रम गरिने बताइन्छ ।

शौचालयको शिलान्यास गर्दै प्रमुख आचार्यले पोखराको पर्यटन प्रवर्द्धन तथा नागरिकको सेवाका लागि सो स्थानमा सार्वजनिक शौचालयको आवश्यकता महसुस गरिएको बताए। जीर्ण भवन विस्थापित गरी जनतालाई सर्वसुलभ तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले चमेना गृहसहितको सार्वजनिक शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाका प्रमुख आचार्यले बताए । 

'यो शौचालय पोखराका लागि नमुना शौचालय हुनेछ, अत्याधुनिक प्रविधिको प्रयोगमार्फत स्मार्ट शौचालय निर्माण हुनेछ', प्रमुख आचार्यले भने, 'चमेनागृहसहित महिला दिदीबहिनीका लागि स्तनपान कक्ष र सेनेटरी प्याडको भण्डारसमेत समावेश हुनेछ ।'

शौचालयबाट निकाल्न सकिने ग्यासको प्रयोगबाट चमेनागृह पनि सञ्चालन गरिने छ  । त्यो नेपाली शैलीको हुने प्रमुख आचार्यको भनाइ छ । आसपासमा केही चौतारी निर्माण गरिनेछन् । अधिकांश स्थान भने खुल्ला नै राखिने प्रमुख आचार्यले बताए ।

एनआरएनएका मेगा प्रोजेक्ट संयोजक रविना थापाले पोखरा महानगरपालिकाको महेन्द्रपुलमा आफूहरूले नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माणका लागि महानगरपालिकासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । एनआरएनएका कार्यकारी अध्यक्ष बद्रिबहादुर केसीले विदेशमा जस्तै पोखरामा पनि सुविधा सम्पन्न अत्याधुनिक शौचालय निर्माण गरिने बताए।