close

बागलुङको काठेखोलामा खानेपानी अभाव

बागलुङको काठेखोलामा खानेपानी अभाव

Trulli
ADVERTISEMENT

बागलुङ  । काठेखोला गाउँपालिका वडा नम्बर ३ को धम्जा देउरालीमा खानेपानीको अभाव भएको छ । धम्जाका अधिकांश गाउँमा ‘एक घर, एक धारा’ निर्माण गरिए पनि देउरालीमा भने खानेपानी अभाव कायमै छ । 

भौगोलिक हिसाबले धम्जाकै शिरमा रहेको देउरालीमा खानेपानीका मूल बस्तीभन्दा तल भएका कारण यहाँका २० घरमा वर्षौँदेखि खानेपानीको पहुँच छैन ।  धम्जा देउरालीका बासिन्दालाई खानेपानीको सुविधा दिन सोलार लिफ्ट खानेपानी आयोजना सञ्चालन गरेर देउराली खर्कको चौरमुनिको मूलबाट खानेपानी ल्याइए पनि उक्त आयोजना एक महिनासमेत टिक्न सकेन ।  

प्राविधिक त्रुटिका कारण सोलार लिफ्ट खानेपानी आयोजना सञ्चालनको एक महिनामै बिग्रिएपछि पुनः खानेपानीको अभाव भएको स्थानीय प्रेमश्वरी श्रेष्ठले बताए । 'सोलार लिफ्ट आयोजना सञ्चालनको एक महिनामै बिग्रियो' उनले भने। रु १४ लाखको लागतमा योजना सम्पन्न भएको हो । देउरालीका सबै घरमा खानेपानीका धारा छन्, तर पानी उपलब्ध छैन । 

काठेखोला गाउँपालिकाले दुई वर्षअघि देउरालीमा खानेपानीको अभाव टार्न सोलार लिफ्ट खानेपानी आयोजना निर्माण गरेको हो । योजना सञ्चालनमा आउन नसकेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष यमबहादुर रोकाले बताए। लिफ्ट आयोजना मर्मत गर्न पहल भइरहेको उनको भनाइ छ । अहिले देउरालीमा असौजे र कालठुटेको मूलबाट आएको पानी दुईवटा ट्याङ्कीमा जम्मा गरेर घर–घरमा वितरण भइरहेको छ । बर्खामा खानेपानी पुग्ने भए पनि हिउँदयाममा अभाव नै हुन्छ । 

देउरालीमा खानेपानी ल्याउनका लागि बस्तीमुनिको देउरालीखोला मुहानको पानी सोलार लिफ्ट योजनामार्फत झन्डै तीन सय मिटरमाथि तानेर घर–घरमा पु¥याइएको थियो ।