close

‘उपमहानगरपालिकाको अनुभूति नै गर्न पाइएन’

‘उपमहानगरपालिकाको अनुभूति नै गर्न पाइएन’

Trulli
ADVERTISEMENT

दाङ । तुलसीपुर उपमहानगरपालिका–१ का विकट बस्तीमा अझै पनि प्रभावकारीरूपमा सडक सञ्जाल पुग्न सकेको छैन । विकट क्षेत्रका रूपमा चिनिने वडा नं १ को बयाले, चुरेघाँटी, बाखखोर, रानी टाकुरा, अभिधारा, गहिरा सिउरेलगायतका क्षेत्रमा सडक सञ्जाल पुग्न नसकेको हो । 

सडक सञ्जाल नभएकोले उपमहानगरपालिकाद्वारा उपलब्ध हुने सेवा सुविधा पाउन नसकेको स्थानीय चक्रपानी उपाध्यायले बताए । 'हामी उपमहानगरपालिका भन्छौँ । तर राम्रो सडक छैन । धेरै ठाउँ विद्युत् पुगेको छैन', उनले भने, 'तर हामीले उपमहानगरपालिकाको अनुभूति नै गर्न पाएको अवस्था छैन ।'

वडा नं १ मा मात्रै पाँच/सातवटा त्यस्ता बस्ती रहेको उनले बताए। त्यहाँ तत्काल विद्युत्, खानेपानी, सडक पु¥याउनुपर्ने अपरिहार्य रहेको तुलसीपुर–१ का अध्यक्ष हुमकान्त सापकोटाले बताए ।

ती गाउँमा करिब दुई सय बढी घरपरिवार रहेका छन् । उपमहानगरपालिकाभित्रका यस्ता बस्तीलाई लक्षित गरी विकासको मोडेल तयार पार्ने उपप्रमुख स्यानी चौधरीले बताए । 'अझै पनि उपमहानगरपालिकाका विकट–विकट क्षेत्रले विकासको अनुभूति गर्न पाएको अवस्था छैन', उनले भने, 'ती बस्तीमा लक्षित गरी विकास पु¥याउन हामी पहल गर्छौँ ।'

सडक, खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता कुरालाई बढी प्राथमिकता दिने उनको भनाइ छ । सडक सञ्जाल नहुँदा बजार आवतजावत गर्न पनि निकै कठिन हुने गरेको तुलसीपुर–१ बयाले निवासी चक्रपानी उपाध्यायले बताए । 'बजार आउने–जाने काम परिरहन्छ', उनले भने, 'सडक सञ्जाल गतिलो नहुँदा हिँडेरै बजार जानुपर्छ ।'  ती गाउँमा सडकको ट्रयाक खोलिएको भए पनि गाडी जान सक्दैनन् । मर्मत तथा स्तरोन्नति हुनसकेको अवस्था छैन ।