close

विद्युतीय अभिलेखीकरणका लागि तथ्याङ्क सङ्कलन गर्दै पोखरा महानगर

विद्युतीय अभिलेखीकरणका लागि तथ्याङ्क सङ्कलन गर्दै पोखरा महानगर

Trulli
ADVERTISEMENT

कास्की। पोखरा महानगरपालिकाले विद्युतीय पार्श्वचित्रका लागि घरधुरी तथ्याङ्क सङ्कलन गर्ने भएको छ । समग्र महानगरपालिकाको वस्तुगत अवस्थाको विद्युतीय अभिलेखीकरणका लागि पारिवारिक विवरण सहितको तथ्याङ्क सङ्कलन गर्न लागिएको हो । 

यस क्रममा व्यक्तिको पारिवारिक अवस्था, आर्थिक अवस्था, व्यवसायीक विवरण, घर बहाल, कृषि तथा पशुपालन, रोजगारीको अवस्था, शिक्षा, स्वास्थ्यमा पहुँच, वैदेशिक रोजगारी, पञ्जिकरण अद्यावधिक लगायतका विवरणहरू सङ्कलन गरिनेछन् । 

यस्तो प्रकारको तथ्याङ्क सङ्कलनले महानगरलाई आगामी योजनाहरू निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन्। तथ्याङ्क सङ्कलन गर्न छनौट भएका सर्वेक्षकहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै  उनले यस्तो विश्वास व्यक्त गरेका हुन्। 

‘समग्रमा महानगरको अवस्था के हो भन्ने विषयलाई विद्युतीय अभिलेखीकरण गर्न जरुरी छ’, प्रमुख आचार्यले भने, ‘यस्तो अभिलेखले महानगरका योजनाहरू निर्माण गर्दा त्यसको आवश्यकता र प्राथमिकता निर्धारणमा महत्त्वपूर्ण सहयोग पुग्छ ।’ उनका अनुसार सर्वेक्षकहरूले महानगरवासीका घरघरमा पुगेर यथार्थ विवरण सङ्कलन गर्नेछन् । 

नगरवासीहरूको प्रमुख सुचाङ्कहरु, खण्डीकृत सुचाङक्को पहिचान, आर्थिक सबलता र दुर्बलताको अवस्था, विपन्नता र विपत् जोखिम क्षेत्रहरूको पहिचान लगायतका अवस्थामा यो उपयोगी हुने उनले विश्वास व्यक्त गरे। महानगरपालिकामा सञ्चालित व्यवसायहरूको वैधानिकता र त्यसलाई करको दायरामा ल्याउँदै प्रत्येक आर्थिक वर्षमा आर्थिक गतिविधिहरूको विवरण सहित आर्थिक सर्वेक्षण प्रकाशनका लागि भर पर्दो सूचनाको रूपमा यसले सहयोग गर्ने उनले बताए।

महानगरपालिका ३३ वडामा तथ्याङ्क सङ्कलनका लागि २२० जना सर्वेक्षकहरू छनौट भएका छन् । उनीहरूलाई आवश्यक तालिम समेत प्रदान गरिसकिएको छ । उनीहरू तथ्याङ्क सङ्कलनका लागि यही वैशाख २५ गते देखी फिल्डमा खटिनेछन् ।