close

सोलेडाँडाको प्रवर्द्धन गरिँदै

सोलेडाँडाको प्रवर्द्धन गरिँदै

Trulli
ADVERTISEMENT

बाग्लुङ । पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको यहाँको सोलेडाँडालाई प्रवर्द्धन गर्न गाउँपालिका लागेको छ । तमानखोला गाउँपालिकाले पूर्वाधार निर्माण पछि सोलेडाँडालाई पर्यटकीय गन्तव्य बनाउन प्रवर्द्धनात्मक कार्यक्रम थालेको हो । वरपर घना जङ्गलको बीचमा रहेको दुई हजार छ सय ३० मिटर उचाइमा अवस्थित सोलेडाँडाको पूर्वाधार विकासमा लगानी गर्दै आएको गाउँपालिकाले प्रचारप्रसारको कामसमेत गर्न थालेको छ । 

सोलेडाँडामा सडकसहित अन्य पूर्वाधार निर्माण गरेको गाउँपालिकाले प्रचारप्रसारका लागि प्रवर्द्धनात्मक अभियान सञ्चालन गर्न थालेको हो । गाउँपालिकाले सोलेडाँडा प्रवर्द्धनका लागि सोलेडाँडामै पुगेर पर्यटन संवाद कार्यक्रमसमेत गरेको छ । 

विकासका विषयमा होटल तथा सभाहलमा मात्रै बहस भइरहेका सन्दर्भमा सो गाउँपालिकाले सोलेडाँडामै पुगेर पर्यटनका विषयमा छलफल र प्रवर्द्धन गरेको छ भने आगामी दिनमा समेत पर्यटन सूचना केन्द्र, घरबासलगायतका आवश्यक कुरा स्थापना गर्ने तयारी थालेको छ ।  गाउँपालिकाले पर्यटनको विकास तथा प्रचारप्रसारका लागि यही मङ्गलबार सोलेडाँडामै पुगेर पर्यटन बहस गरेर प्रवर्द्धनको अभियान थालेपछि यहाँका स्थानीयसमेत उत्साहित बनेका छन् । 

यहाँका स्थानीयले सोलेडाँडा पुग्ने सडक सहज बनाउनुपर्ने, पर्यटकलाई आवासको व्यवस्थापन मिलाउनुपर्ने र सोलेडाँडाको महत्वलाई विश्वसामु पु¥याउन गाउँपालिकाले भूमिका खेल्नुपर्ने बताउँदै आएका छन् ।  

स्थानीय उदिम छन्त्यालले तमानखोलाका पर्यटकीय गन्तव्य अवलोकनका लागि आउने पर्यटकका लागि घरबास स्थापना गर्नुपर्ने बताए । 'गाउँपालिकाले पूर्वाधारमा लगानी गरेको छ, तर त्यहाँ पुग्ने सहज सडक छैन । सडक कम्तीमा ग्राभेल बनाउने, सोलेडाँडामा अतिथि आवास बनाउनेतर्फ ध्यान दिन आवश्यक छ', छन्त्यालले भने, 'यहाँको पर्यटन सम्भावनाका विषयमा नागरिकस्तरमा उजागर गर्नु पर्दछ, पूर्वाधारसँगै प्रचारप्रसार आवश्यक छ ।' तमानखोलामा सोलेडाँडासहित बराह ताल, नौ डल्ले पहाड, ढोमैथानलगायतका स्थान अत्यन्तै पर्यटकीय सम्भावनायुक्त रहेको जनाइएको छ । 
 
    बागलुङको तमानखोला-४ र म्याग्दीको मालिका गाउँपालिकाको सिमानामा पर्ने सोलेडाँडा लोभलाग्दो पर्यटकीयस्थल भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा पर्यटकको आगमन सोचेजस्तो बढाउन नसकिएको स्थानीय नरकुमार गोतामेको भनाइ छ । 

    सोलेडाँडामा सहिद स्मृति पार्क, सत्तल, शौचालय र खानेपानीलगायतको पूर्वाधारमा रु २० लाख बजेट खर्च भइसकेको तमानखोलाका अध्यक्ष जोकलाल बुढाले बताए । सोलेडाँडाबाट प्राकृतिक दृश्यावलोकन, हिमऋङ्खला, सूर्योदय र चैत तथा वैशाखमा लालीगुराँसको वन हेर्न यहाँ पर्यटक पुग्ने गरेका छन् । 

    उनले भने, 'चैत र वैशाखमा लालीगुराँस फुल्दा र हिउँदमा सोलेडाँडालार्ई हिउँले छपक्कै छोप्दा सोलेडाँडाको आर्कषक थप हुन्छ । पालिकाले रु २० लाख लगानीमा केही पूर्वाधार निर्माण गरेको छ । अब खाँचो स्तरीय सडक र प्रचारप्रसारको हो ।'

    यहाँबाट बागलुङ र म्याग्दीका दर्जन गाउँसँगै धौलागिरि, धौलाश्री, माछापुच्छ्रे, मानापाथीलगायत दर्जनौँ हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । पछिल्लो समय सोलेडाँडामा म्याग्दी र बागलुङ दुवैतिरबाट घुम्न आउने आन्तरिक पर्यटक बढ्दै गएको भए पनि खान तथा बस्ने सुविधा नभएको स्थानीय बताउँछन् । गाउँपालिकाले सहिदको सम्मानका लागि गाउँपालिकाले पूर्वाधार निर्माणसँगै सहिदको सालिकसमेत निर्माण गरेको छ ।