close

पोखरामा नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुने

पोखरामा नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुने

Trulli
ADVERTISEMENT

कास्की । दक्षिण एसिया मै पहिलो पटक पोखरामा नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा आगामी असार ८ र ९ गते पोखरामा पहिलो पटक नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुने भएको हो ।

दुई देशबिच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमका सम्बन्धमा बिहीबार नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासका अधिकारीबिच सम्झौता भएको छ । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यको उपस्थितिमा सम्पन्न कार्यक्रममा नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्डका कार्यकारी प्रमुख डा‍.धनञ्जय रेग्मी र नेपालस्थित चिनियाँ दूतावासका तर्फबाट डेपुटी चिफ अफ मिसन डीसीएम वाङ जिनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

यस प्रकारको बोट रेस फेस्टिभल दक्षिण एसियामै पहिलो पटक आयोजना गर्न लागिएको हो । रेसका लागि चीनबाटै ८ वटा विशेष खालका बोट सहित अन्य सहभागीहरू नेपाल आउनेछन् । फेस्टिभलमा नेपालका सातै वटै प्रदेशबाट सहभागिता रहनेछ ।


यस कार्यक्रमले नेपाल कै समग्र पर्यटनमा नयाँ आयाम थप्ने पोखरा महानगरपालिकाका प्रमुख आचार्यले विश्वास व्यक्त गरे । पोखराको पर्यटनमा नयाँ प्रडक्ट थपिने र यसलाई हरेक वर्ष आयोजना गरिने उनको भनाई छ  । फेस्टिभलपछि करोडौँ मूल्यका ८ थान डुङ्गाहरू चिनियाँ पक्षको तर्फबाट पोखरा महानगरलाई हस्तान्तरण गरिने छ ।

 
बोर्डका कार्यकारी प्रमुख डा।धनञ्जय रेग्मीले बोट रेस फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए । चिनियाँ दूतावासका डीसीएम वाङ जिनले पोखरा चिनियाँ पर्यटकको लागि आकर्षक गन्तव्य भएको उल्लेख गरे ।  कार्यक्रमले दुवै देशबिचको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध थप प्रगाढ हुने उनले विश्वास व्यक्त गरे। उक्त अवसरमा फुड फेस्टिभल समेत आयोजना गरिनेछ ।