close

याेजना तर्जुमा गर्न पाेखरामा वडागत बैठक सुरु

याेजना तर्जुमा गर्न पाेखरामा वडागत बैठक सुरु

Trulli
ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि योजना तर्जुमा सम्बन्धी बैठक गरेकाे छ । महानगरपालिका आगामी आर्थिक वर्षका लागि याेजना तर्जुमा गर्नका लागिक ३३ वटै वडाहरूमा गर्ने गरी  बैठक सुरु गरिएकाे हाे ।  

अभियानको रूपमा महानगरका सबै वडाहरूमा गरिने यस प्रकारको तयारी बैठक नगरप्रमुख धनराज आचार्यले वडा नम्बर २५ बाट सुरु गरेकाे बताए । 

पोखरा महानगरपालिका वडा नम्बर २५ मा आयोजित तयारी बैठकमा बोल्दै प्रमुख आचार्यले आगामी आवका लागि योजनाहरू तर्जुमा गर्दा स्थानीय आवश्यकता र प्राथमिकताको आधारलाई विशेष ख्याल गर्न अनुराेध गरे । 'वडा स्तरमा योजनाहरू तर्जुमा गर्दा सम्बन्धित वडाको आवश्यकता र प्राथमिकता पहिलो सर्त हुनुपर्दछ,' उनले भने, 'वडामा रहेका सबै सरोकारवालाहरूको भेला मार्फत विधिसंगत तवरले तर्जुमा गरिएका योजनाहरू मात्र वडाको योजना बैङ्कमा सूचीकृत गरिनु पर्दछ ।'

योजना तर्जुमाका नाममा धेरै समय खेर जाने र परिणाममुखी योजनाहरू नबन्ने विगतका कमजोरीहरूलाई सुधार गर्दै अव चार वर्षका लागि आवश्यक योजनाहरू एकै पटक तर्जुमा गरी वडा वडामा योजना बैङ्क तयार गरिने उनले बताए । आफ्नो कार्यकालमा सम्पन्न गर्न सकिने र स्रोतको सुनिश्चितता हुने योजनाहरू मात्र छनौट गर्नुपर्नेमा उनले जोड दिए । स्थानीय विकासको दीर्घकालीन सोचलाई ध्यानमा राखी योजनाहरू निर्माण गर्ने बेला आएको प्रमुख आचार्यले बताए।

महानगरपालिकाका सबै वडाहरूको समुचित र न्यायोचित विकासका लागि वर्तमान नेतृत्व तत्पर रहेको बताउँदै उनले महानगरमा विभिन्न दातृ निकायहरुको सहयोगमा २३ अर्ब बढीको लगानीमा नयाँ परियोजनाहरू सञ्चालनको तयारीमा रहेको बताए । सुस्त प्रायः बनेको पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय दातृ निकायहरुसँगको समन्वयलाई महानगरको नयाँ नेतृत्वले तदारुकताका साथ पुनर्स्थापित गरी अरबौँ रुपैयाँ लगानीको वातावरण तयार गरेको उनले बताए ।

समृद्ध महानगर निर्माणका लागि नयाँ बन्ने योजनाहरू समेत परिणाममुखी बन्न आवश्यक रहेको उनले बताए । उनका अनुसार वडामा हुने योजना छनौटको प्रक्रियालाई सहभागितामूलक बनाई सबै नागरिकहरूको पहुँच स्थापित गर्ने उद्देश्यले वडा वडामा यस्तो प्रकारको कार्यक्रम गर्न लागिएको हो । समग्र पोखराको समुचित विकास नयाँ नेतृत्वको स्वार्थ हुने भन्दै उनले यस अभियानमा हातेमालो गर्न महानगरवासीलाई आग्रह समेत गरे ।

वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरूले आफ्नो वडाका योजनाहरू तर्जुमा गर्दा स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा गर्ने बताएका छन् । सो क्रममा आवश्यक विधि, प्रक्रिया र पद्धतिको पूर्ण पालना गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । 

तयारी बैठकमा सहभागी स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, बुद्धिजीवी लगायत स्थानीयहरूले नागरिकको आधारभूत आवश्यकता, भौतिक विकास, विपद् जोखिम न्यूनीकरण, पर्यटन विकास, कृषि, सामाजिक न्याय सहितको समतामूलक समाज निर्माणका लागि मानव संसाधनको विकास लगायतका विषयमा योजनाहरू केन्द्रित गरिनु पर्ने बताए । 

वडा नंम्बर २५ बाट सुरु भएको योजना तर्जुमा तयारी बैठक हालसम्म वडा नम्बर ४ र ५ मा समेत सम्पन्न भइसकेकाे छ। महानगरका अन्य वडाहरूमा यो कार्यक्रम सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।