close

बन्दको कारण पूर्वको जनजिवन प्रभावित

बन्दको कारण पूर्वको जनजिवन प्रभावित

Trulli
ADVERTISEMENT

धनकुटा- राष्ट्रिय जनमुक्ति पार्टी लगायत विभिन्न ७ वटा संगठनले आह्वान गरेको यातायात बन्दका कारण धनकुटा सहित अरुण पूर्वका ९ जिल्लाको जनजिवन प्रभावित भएको छ । बन्दका कारण सोमबार धनकुटाबाट छुट्ने सबै यातायातका साधन छुट्न सकेका छैनन भने धनकुटा आउने सवारीसाधन आउन सकेका छैनन् ।

साउन २२ गतेलाई लिम्बुवानको कालो दिनको रुपमा मनाउँदै यातायात बन्दका कारण जिल्लामा लामो तथा छोटो दुरीका कुनै पनि सवारीका साधन सञ्चालनमा आउन नसकेको जिल्ला ट्राफिक प्रहरी प्रमुख यज्ञराज शर्माले जानकारी दिए । सडकमा मोटरसाइकल, टेम्पो लगायतका सवारी साधन भने सञ्चालनमा रहेको उनले बताए।

सार्वजनिक सवारीका साधन सञ्चालनमा नआउँदा यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन् । यातायात चल्ने आसमा विभिन्न बसपार्कमा पुगेका यात्रुहरु त्यसै फर्किएका छन्, यातायातका साधनहरु बिच बाटोमै रोकिएका छन् ।

वि. सं. १८३१ साल साउन २२ गते लिम्बुवानको सार्वभौमसत्ता समाप्त गरि नेपाल राज्यमा गाभिएको भन्दै साउन २२ गतेलाई हरेक वर्ष कालो दिनको विरुद्ध यातायात भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले बन्द गर्दै आएको थियो । यो पटक भने राष्ट्रिय जनमुक्ति पार्टी सहित संघिय लिम्बुवान पार्टी नेपाल, संघिय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति, किराँत खम्बुवान राज्य परिषद, किराँ लिम्बुवान राज्य परिषद र लिम्बुवान राष्ट्रिय मोर्चाले संयुक्त रुपमा बन्दको आह्वान गरेका हुन् ।

बन्दका कारण छिमेकी जिल्ला तेह्रथुम, ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, मोरङ, सुनसरी र संखुवासभामा समेत यातायात बन्द भएका छन् ।