close

हल्दीबारीमा विपन्न परिवारलाई निःशुल्क खानेपानी

हल्दीबारीमा विपन्न परिवारलाई निःशुल्क खानेपानी

Trulli
ADVERTISEMENT

झापा -  हल्दीबारी गाउँपालिकाले स्थानीयवासीलाई खानेपानी निःशुल्क वितरण गर्न थालेको छ । गाउँपालिकावासीमा शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यले खानेपानी निःशुल्क वितरण गर्न थालिएको हो । 

शुद्ध खानेपानीको अभाव हुँदा विभिन्न रोगको सङ्क्रमण हुने गरेकाले खानेपानीलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए । '१० युनिट (१० हजार लिटर) सम्म पानी निःशुल्क उपलब्ध गराएका छौँ', उनले भने । 

यसअघि उपभोक्ताले मासिक १० युनिटसम्म खानेपानी खपत गर्दा रु एक सय २० तिर्दै आएका थिए । सोभन्दा बढी खपत भएमा खपतका आधारमा उपभोक्ताले महसुल तिर्नुपर्नेछ । गाउँपालिकाले विपन्न स्थानीयवासीलाई  धाराको मिटर निःशुल्क वितरण गरेको छ । गाउँपालिकाले सात सय ५६ मिटर खरिद गरेर विपन्न परिवारलाई निःशुल्क वितरण गरेको गाउँँपालिकाका खानेपानी प्राविधिक पारस अधिकारीले जानकारी दिए ।

हल्दिबारीमा हाल तीन खानेपानी आयोजना छन् । तीमध्ये गोलधाप खानेपानी आयोजना र जलथल खानेपानी आयोजना सञ्चालनमा छ भने हल्दिबारी खानेपानी आयोजनाअन्तर्गत पाइपलाइन विस्तारको काम भइरहेको छ । प्रदेश सरकारको लगानीमा हल्दिबारी–२ मा पाइपलाइन विस्तारको काम भइरहेको प्रविधिक अधिकारीले बताए।

हाल गोलधाप खानेपानी आयोजनाअन्तर्गत सात सय ५६ उपभोक्ताले निःशुल्क खानेपानी उपभोग गर्दै आएका छन् । जलथल खानेपानी आयोजनाअन्तर्गत एक हजार छ सय उपभोक्ता लाभान्वित भएका छन् । खानेपानी निःशुल्क वितरणका लागि खानेपानी आयोजनाका कर्मचारीको तलब र विद्युत् महसुल गाउँपालिकाले उपलब्ध गराउने गरेको छ ।  

गाउँपालिकाले जलथल खानेपानी आयोजनाका चार  कर्मचारीको तलब मासिक रु १५ हजारका दरले तथा  विद्युत् महसुल सरदर मासिक रु ५५ हजार र गोलधाप खानेपानी आयोजनाको तीन कर्मचारीको मासिक रु १५ हजारका दरले उपलब्ध गराउँदै आएको छ । कर्मचारीको तलब र विद्युत् महसुल तिरिदिएबापत ती खानेपानी आयोजनाले उपभोक्तालाई मासिक १० युनिटसम्म खानेपानी निःशुल्क उपलब्ध गराउँदै आएका छन् ।