close

स्थानीय सरकारको पहलमा खस भाषा अभिलेख राख्ने ​​​​​​

स्थानीय सरकारको पहलमा खस भाषा अभिलेख राख्ने ​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । स्थानीय सरकारको पहलमा भाषा आयोगद्वारा खस भाषा अभिलेखीकरण गरिने भएको छ ।

 नेपाली भाषाको माउ भाषाको रुपमा परिचित जुम्ली खसभाषा राष्ट्रिय भाषा आयोगमा दर्ता नभएपछि स्थानीय सरकारले अभिलेखीकरणको पहल थालेको हो ।

सिञ्जा गाउँपालिका जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले खसभाषा आयोगमा लिपिवद्ध गर्न पहल अगाडि बढाइएको जानकारी दिए ।अध्यक्ष धितालले आयोगको टोली जुम्लाको सिञ्जामा पुगेर पाँचवटा खस लिपिको मानक प्रमाणित गरेको बताए । 

उनका अनुसार गाउँपालिकाको टोली आयोगको केन्द्रीय कार्यालयमा समेत पुगेर आवश्यक छलफल, समन्वय र सहकार्य गरेको छ ।

‘अब खसभाषाको लिपि भएको शब्दकोष अभिलेखीकरण तथा कम्प्युटराइज्ड गर्न आयोग निकै सकारात्मक र उत्साहित भएको छ,’ अध्यक्ष धितालले भने, ‘स्थानीय तह र सरोकारवालको बैठक बसालेर थप छलफल गर्छौँ ।’

टुङ्गो लगाइयो स्वर र व्यञ्जन वर्ण

भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले खसभाषा अभिलेखीकरणका विषयमा आयोगले प्रथामिकता दिएको बताए । 

स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा खसभाषा अभिलेखीकरण कार्य सुरु भएको उनले बताए । 

अध्यक्ष अवस्थीका अनुसार राष्ट्रपतिसमक्ष पेश गरिएको प्रतिवेदनमा समेत खसभाषा समेटेर पठाइएको र अन्य काम भइरहेको छ । 

अध्यक्ष अवस्थीले भने ‘जुम्ली खसभाषालाई माउ भाषाका रुपमा लिन अलि कठिन छ किनकी यसको वर्ण नै लोप भएको छ, यद्यपि यो एउटै परिवारका भाषा भने भए । खस भाषामा पाँचवटा व्यञ्जन वर्ण बढी छ,’ उनले भने, ‘जुम्ली भाषा र देवनागरी भाषाबीच फरक छ । पछिल्लो समयमा खसभाषा बोल्ने नागरिकहरुको सङ्ख्या पनि कम हुँदै जाँदा यो लोपोन्मुख अवस्थामा छ ।’