close

तिल्केका १७ घर पहिरोको उच्च जोखिममा, तत्काल उद्धारको आशा

तिल्केका १७ घर पहिरोको उच्च जोखिममा, तत्काल उद्धारको आशा

Trulli
ADVERTISEMENT

उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका– १० को तिल्केको पहाडी क्षेत्रमा रहेको १७ घर अहिले पहिरोको उच्च जोखिममा छ । 

स्थानीयवासी दुर्गाबहादुर थापाका अनुसार गाउँभन्दा माथिबाट तलसम्म २०० मिटर जमिन फाटेर भासिँदै चिरा परिसकेको हुँदा जतिखेर पनि गाउँलाई पहिरो बगाउने खतरा छ ।  

कटारी नगरपालिका–१० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काले तिल्के गाउँ पहिरोको उच्च जोखिममा परिसकेको हुँदा अहिले स्थानीयको धनजनको रक्षाका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।

अहिले गाउँलेहरू दिउँसो गाउँघरमा बसे पनि रातिको समयमा पहिरोले जतिखेर पनि बगाउन सक्ने सुरक्षित स्थानमा जाने गर्छन् । गाउँमा बस्नेहरू भने रातभरि ननिदाउने स्थानीय मनकुमारी कार्की बताउँछिन् ।       

गाउँ नै पहिराको उच्च जोखिममा परेपछि समयमै आफूहरूको उद्धार नभए जतिखेर पनि ज्यान र धनमाल खतरामा रहेको तिल्केवासी बताउँछन् । कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले तीन–चार वर्षदेखि तिल्के पहिराको जोखिममा पर्दै आएको बताउँदै यस पटकको वर्षामा जतिखेर पनि गाउँ पहिरोमा बग्न सक्ने बताए । साथै उनले समस्या समाधानका लागि के गर्न सकिन्छ भनेर जिल्ला प्रशासन, प्रदेश सरकारसहित सङ्घीय सरकार गृह मन्त्रालयसहित सम्बन्धित मन्त्रालयहरूको समेत ध्यानाकर्षण गराइसकेको जानकारी दिए ।  

अब तिल्केवासीलाई तत्काल अन्यत्र पुनर्स्थापना गर्नुको विकल्प नभएको तथा तत्काल त्यसतर्फ कदम नचाले सिङ्गो गाउँ नै पहिरोको चपेटामा पर्ने स्थानीय जनप्रतिनिधिले समेत बताउन थालेका छन् ।

झनै दिनानुदिन वर्षा बढ्दै जाँदा छिटोभन्दा छिटो आफूहरूको तत्काल उद्धार हुनुपर्ने समेत तिल्केवासीको माग छ ।