close

धनगढीको नगरसभामा मेयर र उपमेयरबीच चर्काचर्की

एमाले जनप्रतिनिधिले फाले कुर्सी

धनगढीको नगरसभामा मेयर र उपमेयरबीच चर्काचर्की

एमाले जनप्रतिनिधिले फाले कुर्सी

Trulli
ADVERTISEMENT

धनगढी । सोमबार धनगढी उपमहानगरपालिकाको आठौँ नगरसभाको तेस्रो बैठकमा मेयर र उपमेयरबीच चर्काचर्की भएपछि नेकपा एमालेका जनप्रतिनिधिहरूले हलमा कुर्सी फालेका छन् ।

दिउँसो २ बजे नगरप्रमुख गोपाल हमालले मन्तव्य टुंगाएसँगै बैठक सुरु भएको थियो । हमालले उपमहानगरपालिकाले ल्याएको १ अर्ब ९३ करोड बजेटबाट केही दायित्वका कारण १० करोड काट्नु परेको बताएका थिए । त्यो कुन-कुन शीर्षकमा काटियो भन्ने कुराहरू अहिलेको बजेटमा रहेको उनले जानकारी गराएका थिए ।

'बजेट काट्नुपर्दा दुःख लागेको छ, धेरै मान्छेको दबाबका कारणले यो काम पनि गर्नुपर्‍यो त्यो पनि गर्नु पर्‍यो भन्ने माग आएका छन्,' मेयर हमालले भने, 'आफ्नो इच्छा भए पनि ५ सय मिटर सडक समेत बनाउन सक्ने अवस्था यो बजेटमा छैन । पुराना दायित्व तिर्ने र पुराना योजनालाई सम्पन्न गर्ने यो वर्षका रुपमा यसलाई राखेका छौँ।'

उनले धनगढी उपमहानगरपालिकाको आर्थिक विधेयक २०७९ र विनियोजन विधेयक २०७९ माथि छलफल गर्न कार्यदललाई अनुमति दिएका थिए ।

त्यसपछि उपप्रमुख कन्दकला कुमारि रानाले मन्तव्य राखेकी थिइन् । उनले योजना तर्जुमा र बजेट बनाउने बेलामा मेयरले आफूसँग समन्वय नगरेको  भन्दै आपत्ति जनाइन् । 

'बजेट, योजना तर्जुमा र नीतिका कुराबारे कुनै सरसल्लाह छैन। मेयर सापले नीति बनाउँदा खेरी बनाउनुभयो, मेयर सापको अधिकारको कुरा हो मैले समर्थन गरेँ, त्यही नीतिलाई टेकेर आएको बजेट तर्जुमाको संयोजक उपमेयर हो तर धेरै पटक सम्पर्क गर्न खोजेँ, कहाँ हुनुहुन्छ मेयर साप भनेर, हाकिम र मेयरसाप बसेर अन्तै कार्यक्रम बनाउनुभयो,' उनले भनिन्।

उनले संविधानले दिएको हक र अधिकार किन खोसियो भन्दै प्रश्नसमेत गरिन्। उपमेयर रानाले प्रमुख प्रशासकीय अधिकृत र मेयरले फोन नउठाउने गरेको बताइन्।

त्यसपछि फेरि बोल्दै मेयर हमालले भने 'हामी बसेका ठाउँमा उहाँ मेडम आफैं गएर उहाँले नै बनाएको बजेट हो ।'

 हमालले त्यो बजेट कार्यपालिकामा आएर प्रस्तुत भएको बताए । योजनाहरू सम्बन्धित शाखाबाट विज्ञले बनाए अनुसार हालिएको प्रस्ट पारे ।

'योजना शाखाका विज्ञहरूले योजना बनाएका हुन्, बजेटमा  मेरो कुनै स्वार्थ छैन, बजेट काट्नु परेकाले १० दिन लाग्यो । कर्मचारीलाई सोधेर बजेट काटिएको हो,' हमालले भने।

हमालले फुर्सद नभएर उपमेयरसँग थप छलफल गर्न नसकेको बताए।

'म आफ्नै काममा व्यस्त हुन्छु, उहाँ सम्पर्कमा आउने हो, मेरो काम उपमेयरको कोठामा रिपोर्टिङ गर्न जाने होइन, मान्छे आको आई हुन्छ गाडी चढ्दा खेरी पनि हात समात्न आउँछन्,' उनले भने।

मेयर हमालले उपमेयर रानाले पार्टीको दम्भ देखाएको भन्दै विरोध जनाए । 'हाम्रो पछाडि दल छ, गोपाल हमालको पछि को छ भन्नुहुन्छ, म के टीका लगाएर आको हो र? मलाई २६/२७ हजार भोट दिएर जितेको हो कि होइन?' उनले प्रश्न गरे ।

मेयर र उपमेयरको चर्काचर्कीपछि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले उपमेयरलाई हरहालतमा अपमानित हुन नदिने बताए ।

'हामी उपमेयरलाई हरहालतमा अपमानित हुन दिँदैनौँ, कतै त्यस्तो भए क्षमा चाहन्छौँ,' श्रेष्ठले भने ।

उपमेयर रानाले हमालले धम्की दिएको समेत आरोप लगाइन् । मेयर हमालले द्वन्द्व गर्न चाहे सामना गर्न तयार रहेको उनले बताइन् ।

मेयर/उपमेयरको चर्काचर्की परेपछि अरू नगरसभा सदस्यहरूले विरोध जनाएका थिए । नगरसभा सदस्यहरूले मेयर र उपमेयरकै विवाद भइरहने हो भने अरू सदस्य किन बैठकमा बसिरहने भन्दै प्रश्न गरे।

उनीहरूले आ-आफ्नो ठाउँमा उठेर विरोध जनाए । त्यसपछि मेयर हमालले सभालाई मर्यादित बनाउन आग्रह गरे ।

हलमा सबै सदस्यहरू उठेर बोलाबोल हुन थालेपछि एमालेका एक जना सदस्यले कुर्ची उठाएर फालेका थिए । त्यसैबीच हात हालाहालको अवस्था आउन नदिन सदस्यहरूले एक-अर्कालाई आग्रह गरेका थिए ।

केहीबेर रोकिएको बैठक पुनः सञ्चालन भयो ।  त्यसपछि आर्थिक वर्ष २०७९/८० को वार्षिक अनुमानित आय-व्यय प्रस्तुत भएको थियो।