close

पूर्वमेयर शर्माको अनुभव : कार्यकाल सुरु हुँदा कुनै वडामा टेलिफोनको टावरै टिप्दैन थियो

पूर्वमेयर शर्माको अनुभव : कार्यकाल सुरु हुँदा कुनै वडामा टेलिफोनको टावरै टिप्दैन थियो

Trulli
टि पी शर्मा तिमल्सिना
ADVERTISEMENT

काठमाडौं । काभ्रे नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टिपी शर्मा तिमल्सिनाले स्थानीय तह सञ्चालनसम्बन्धी अनुभव समेटेर ‘पूर्वमेयरको नजरमा स्थानीय तह’ नामक पुस्तकको तयारीमा जुटेको बताएका छन् । 

शनिबार पालिका स्मृतिपार्कमा वृक्षरोपणका क्रममा दाइने गोडाको गोलीगाँठो फ्याक्चर भएको, र डाक्टरले ४५ दिन घरमै आराम गर्न सुझाव दिएपछि पुस्तक लेखन तयारी गरेको उनले जानकारी दिए । 

उनले भने, ‘अस्पतालले ४५ दिन हिँडडुल नगर्न सुझाव दिएको छ । यो अवधिमा पालिकासम्बन्धी संगालेका अनुभव, स्थानीय तहमा रहेका समस्या तथा सुधारका लागि गर्नुपर्ने विषय, संघ र प्रदेश सबैलाई समेटेर पूर्वमेयरको नजरमा स्थानीय तह भन्ने शीर्षकमा पुस्तक लेख्ने तयारी गरेको छु ।’

यस्तै, पहिलो कार्यकालको तुलनामा दोस्रो कार्यकाल निकै सहज भएको उनले बताए । 

आफ्नो कार्यकाल पालिकाको पूर्वाधार निर्माण गर्नमै व्यतित भएको बताउँदै आफ्नो कार्यकालमा सबै वडा कार्यालय केन्द्रमा बाटो, ११ वटै वडामा वडा भवन निर्माण र टोलटोलमा स्वास्थ्य केन्द्रको सुरुवात गरेको उनले स्मरण गरे । 

पालिकाको विकासका लागि  जिल्लाका सबै पालिकाबीच साझेदारी हुनुपर्छ भनेर आफूले अन्तरपालिका सहकार्यमा पनि जोड दिएको उनले बताए । 

उनले भने,‘आफ्नो पालिकाको विकासममा मात्रै मैले ध्यान दिइनँ । अन्तरपालिका फोहोर व्यवस्था, पाँचखालसँग मिलेर माटो निर्माण, खानेपानी तिमाल आयोजना, धुलीखेल पनौतीसँग सहकार्य गरेर पर्यटन विकास र पर्यटन मार्गको निर्माण र ट्रिपर र आगलागी नियन्त्रणका लागि दम्कलजस्ता स्रोतसाधानको आदानप्रदानको थालनी भएको थियो ।’ 

आफू निर्वाचित भएको एक महिनामै विज्ञ समूह गठन गरेको बताउँदै उनले दीगो विकासको अवधारणलाई मध्यनजर गर्दै माटो बचाउ अभियान पनि सुरु गरेको बताए ।

आफ्नो पालामा बाटाघाटा निर्माणका साथै बहुवर्षीय योजना कार्यको शुभारम्भ भएको बताए । उनले भने, ‘युवालक्षित कार्यक्रम, नमुना विद्यालय, स्थानीय भाषालगायत कार्य अघि बढाइएको छ।’

एक घर एक धारा कार्यक्रम अघि बढाएको र सोबाट ७० प्रतिशत जनता लाभान्वित भएको उनले बताए । 

आफ्नो कार्यकाल सुरु हुँदा वडा नम्बर ६ मा टेलिफोन नै नटिप्ने अवस्था रहेको बताउँदै उनले आफ्नै कार्यकालमा सो वडामा टेलिफोन सेवा प्रवाह गरेको बताए । 

उनले भने, ‘मेरो कार्यकाल सुरु हुँदा वडा नम्बर ६ मा टेलिफोनको टावर टिप्दैन थियो ।’