close

जनकपुरका कर्मचारीले वर्षमा ५२ दिन साइकल चढ्नुपर्ने

जनकपुरका कर्मचारीले वर्षमा ५२ दिन साइकल चढ्नुपर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । जनकपुर महानगरपालिकाले कर्मचारी तथा नगरवासीहरूमा वर्षमा ५२ दिन अनिवार्य साइकल चलाउन आह्वान गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा हप्तामा एक दिन साइकल चलाउने कार्यक्रम समेटिएको, र सोहीबमोजिम हप्तामा एक दिन उपमहानगरभर साइकल चलाउनका लागि सबै वडा र सरकारी कार्यालयलाई पत्राचार भइरहेको प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले पालिका खबरलाई जानकारी दिए ।

कार्यालयबाट फ्युलमा हुने खर्च, नगरवासीको स्वास्थ्य र कर्मचारीमा साइकल चढ्ने बानीको विकासका लागि नगरको नीति तथा कार्यक्रममा सो विषय समेटिएको उपाध्यायले बताए ।

‘नगरवासीहरूको स्वास्थ्य सुधार, प्रदूषण नियन्त्रण, फ्यूल नियन्त्रण र इन्धन खपतमा कन्ट्रोल गर्नका लागि सबै नगरवासीलाई आह्वान गर्ने भनी नीति तथा कार्यक्रममा हप्तामा एकदिन साइकल चलाउने कार्यक्रम समेटिएको हो,’ उनले भने । 

पहिलो चरणमा मेयर, उपमेयर, वडाध्यक्ष तथा कर्मचारीले साइकल चलाउने तयारी गरेको बताउँदै उनले नगरभित्रका सबै कार्यालयलाई हप्तामा एक दिन साइकल चलाउनका लागि पत्राचार गर्ने क्रम जारी रहेको बताए ।

उनले भने, ‘शुक्रबारका दिन बजार आवतजावत गर्दा साइकल चलाएर जानुहोला भनी आह्वान गरेका छौँ ।’

एक औपचारिक कार्यक्रम गरी साउनको पहिलो हप्ताबाटै सो कार्यक्रम सञ्चालन गरिने बताए । तर, साइकल साइकल उपमहानगरले नभई सम्बन्धित कर्मचारी तथा व्यक्तिले नै किन्नुपर्ने उनले जानकारी दिए ।

नगरभित्रका सबै नागरिक समाज तथा ट्राफिक प्रहरीको सहकार्यमा साउनको पहिलो शुक्रबारबाट कार्यक्रम सुरु गरिने जनकपुर उपमहानगर  प्रमुख  मनोजकुमार साहले जानकारी दिए ।