close

लक्ष्मिनियाँमा निर्धारित सममै  योजना  सम्पन्न

लक्ष्मिनियाँमा निर्धारित सममै  योजना  सम्पन्न

Trulli
ADVERTISEMENT

धनुषा ।  लक्ष्मिनियाँ गाउँपालिकामा वैशाख नसकिँदै ८० प्रतिशत योजना सम्पन्न भएका छन् । आर्थिक वर्ष सकिन केही दिन मात्रै बाँकी रहँदा जिल्लाका अधिकांश स्थानीय निकायलाई चालु आर्थिक वर्षको बजेट तथा योजना कार्यान्वयन गर्न भ्याइनभ्याइ हुँदा सो गाउँपालिकालाई भने कार्यान्वयन भएका योजनाको भुक्तानी प्रक्रिया टुङ्ग्याउने चटारो छ । 

गाउँपालिकाका प्रशासकीय अधिकृत नागेन्द्र यादवले गाउँपालिकामा चालु आर्थिक वर्षका  करिब ८० प्रतिशत योजना कार्यान्वयन भई भुक्तानीको काम चलिरहेको जानकारी दिए । उनले चालु आर्थिक वर्षमा गाउँपालिकामा दुई सय ५२ योजनामध्ये दुई सयभन्दा बढी योजनाको काम लगभग सम्पन्न भइसकेको बताए । 

वैशाख नसकिँदै ८० प्रतिशत योजना सम्पन्न भएको बारे थप प्रष्ट्याउँदै प्रमुख प्रशासकीय अधिकृत यादवले भने,'मध्यकालीन खर्च संरचनाअनुसार चौमासिक रुपमा प्राप्त हुने बजेट, महालेखापरीक्षकको सुझाव कार्यान्वयन र राजनीतिक रुपमा सन्तुलन मिलाएर अगाडि बढ्दा सहजरुपमा भइरहेको छ ।' 

गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले ऐन, नियम र कानुनको क्षेत्राधिकारभित्र रहेर जनप्रतिनिधिले जनसेवकका रुपमा काम गरेमा धेरैजसो समस्या समाधान हुने बताए।  'हामी जनताको सेवक भएर काम गर्नका लागि निर्वाचित भएर आएका छौँ तर व्यक्तिगत र पार्टीगत लाभ—हामी हेर्न थालेमा समस्या उत्पन्न हुन्छ । ऐन, नियम र कानुनको परिधिभित्र रहेर काम गर्ने कुरा मैले प्रशासनिक र जनप्रतिनिधिको भूमिकामा रहेका सबै साथीहरुलाई भनेको छु । विवाद आउनसक्छ तर त्यसको निदानका लागि विधि हुन्छ । त्यसैको अनुशरण गर्दा समस्या समाधानमा सहज हुन्छ', उनले भने, 'लक्ष्मिनियाँका सबै सरोकारवालामा विकास क्रियाकलापमा अवरोध गर्नुहुँदैन भन्ने भावना विकास भएकाले पनि समयमै काम गर्न सम्भव भएको हो ।' 

त्यसैगरी उनले करार कर्मचारीको व्यवस्थापनका सन्दर्भमा केही समय उत्पन्न भएको विवादले समस्या सिर्जना गर्न खोजे पनि सबैको समन्य र पहलपछि सो विवाद समाधानको पहल सुरु भएको र आगामी आर्थिक वर्षमा जनताले अनुभूत गर्ने गरी विकास क्रियाकलाप सञ्चालन गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । सात वटा वडा रहेको लक्ष्मिनियाँमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र एउटा वडामा नेपाली कांग्रेस, पाँच वडामा नेकपा (एमाले) र एउटा वडामा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित वडाध्यक्ष छन् । १५ सदस्यीय गाउँकार्यपालिकामा ११  एमाले, एक जना (जसपा) र तीन जना कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । 

स्पष्ट अल्पमतमा हुँदा पनि नीति, नियमको परिधिमा रहेर सबैको सल्लाह र समन्वयमा काम गरेकाले विकास गतिविधि समयमै सुरु गरी समयमै सम्पन्न गर्न टेवा पुगेको अध्यक्ष मिश्रको भनाइ छ । वडा नं चारका अध्यक्ष रमेश साहले आपसी सल्लाह र समन्वयका आधारमा काम गर्ने र देखिएका समस्या तत्काल समाधान गर्न लाग्ने गरेका कारण लक्ष्मीनियाँमा विकासले समयमै गतिलिएको बताए । देखिने कारणहरु अरु नै भए पनि स्थानीय तहमा हुने मुख्य विवादको जड आर्थिक पक्ष नै हो ।


' पक्ष—विपक्षले बजेट परिचालन गर्न पाउने वा नपाउने विषयले नै विकासको गतिलाई प्रभावित पार्छ', वडाध्यक्ष साहले भने,  'तर हाम्रो अध्यक्षले त्यही कुरा बुझेर आफूले परिचालन गर्न पाउने एक करोड बराबर रकम समान रुपमा सात वटै वडाध्यक्षलाई पनि परिचालन गर्न पाउने अधिकार दिएका छन् ।

त्यसैगरी वडा नं १ का अध्यक्ष दिलीपकुमार यादवले फरक—फरक पार्टी र पक्ष–विपक्षभन्दा पनि जनतालाई केन्द्रमा राखेर काम गर्दा अरु कुरा गौण हुने बताए । उनले गाउँकार्यपालिकामा आफ्नो पक्ष अर्थात एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहे पनि आफूहरुले अल्पमत, बहुमत देखाएर विकास गतिविधिमा कुनै समस्या सिर्जना नगरेको बताए । 

'धनुषाकै अरु ठाउँमा अल्पमत—बहुमतको नाममा महिनाैँसम्म विवाद भएको कुरा सबैलाई थाहा छ । हाम्रो पालिकामा पनि सुरुमा विवाद सिर्जना हुन खोजेको थियो तर जनसेवा गर्ने भनेर निर्वाचित भएका जनप्रतिनिधिले अरु कुरामा अल्झिनुहुँदैन र विकासका काममा राजनीतिक आस्था झल्किनु हुँदैन भन्ने मान्यतासहित अगाडि बढेकाले आलोचनाबाट पनि जोगिएका छौँ । विकास पनि भइरहेको छ', अध्यक्ष यादवले भने ।

सो गाउँपालिकामा चालु आवको कूल बजेट ५४ करोडमध्ये १५ करोड विकास बजेटबाट सञ्चालन हुने दुई सय ५२ योजनामध्ये ४८ वटा योजना गाउँपालिका र बाँकी वडास्तरीय योजना रहेका छन् । प्रशासकीय अधिकृत यादवले बाँकी रहेका २० प्रतिशत योजना पनि समयमै सुरु भइसकेका तर अन्तिम चौमासिकमा पाउने वित्तीय अनुदानतर्फको बजेटमध्ये पचास प्रतिशत रकम कटौती र प्रदेश सरकारले दिने भनेको सवा दुई करोड बजेट रकम अहिलेसम्म निकासा नभएकाले चालु योजनाको भुक्तानीमा समस्या उत्पन्न हुने अवस्था आएको गुनासो गरे ।