close

काठमाडौं महानगरको चेतावनी सूचनामै सिमित

काठमाडौं महानगरको चेतावनी सूचनामै सिमित

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धुमपान गर्नेलाई कारबाही गर्ने दिएको चेतावनी कागजमा सिमित भएको छ । ‘सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन अनुसार कारबाही गर्ने चेतावनी दिएको एक महिना नाघिसक्दा पनि कारबाही शून्य छ । 

काठमाडौँ महानगरपालिकाले असोज १ गत सार्वजनिक सूचना जारी गर्दै ऐनको दफा १७ अनुसार जरिवाना गर्ने चेतावनी दिएको थियो । तर, एक महिनाभन्दा धेरै भइसक्दा पनि महानगरपालिकाले एक जनालाई पनि कारबाही गरेको छैन । सार्वजनिक स्थानमा धुमपान गर्नेको संख्या भने उस्तै छ । 

यस विषयमा काठमाडौं महानगरका प्रवक्त नवीन मानन्धर धुमपान सेवनको अनुगमन भइरहेको बताउँछन् । उनी भन्छन्, ‘नगरप्रहरी र नेपाल सरकारको प्रहरीले धुमपानको अनुगमन भइरहेको छ । यदि सार्वजनिक स्थलमा धुमपान गरेको पाइएमा कानुनी व्यवस्था अनुसार कारबाही हुन्छ ।’

‘सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८’ को दफा ४ ले कसैले पनि सार्वजनिक स्थलमा धुमपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न नपाउने उल्लेख गरेको छ । विमानस्थल, कारागार, पर्यटकिय होटलमा व्यवस्थापनकले अन्य व्यक्तिलाई प्रतिकूल असर नपर्नेगरी खास ठाउँमा धुमपान तथा सुर्तिजन्य पदार्थ सेवन क्षेत्र बनाउन सकिने व्यवस्था छ । 

यस्तै दफा १७ मा धुमपानमा रोक लगाउँदा पनि नमाने वा पटकपटक धुमपान तथा सुर्तिजन्य पदार्थ सेवन गरेमा सार्वजनिक स्थलबाट बहिष्कार गर्ने अथवा एक सय रुपैयाँ जरिवाना वा दुवै जरिवाना हुने व्यवस्था छ । 

काठमाडौं महानगरपालिका प्रहरी बल तथा प्रहरी उपरीक्षक राजु पाण्डेले सार्वजनिक स्थलमा धुमपान गर्ने व्यक्तिलाई सम्झाइ बुझाई गरिरहेको बताए । चोकचोकमा ड्युटीमा खटिएका नगर प्रहरीले सार्वजनिकस्थलमा कसैले धुमपान गरेको देखेमा धुमपान नगर्न आग्रह गरिरहेका छन् ।

‘म आफैले पनि हिँजो बसन्तपुर क्षेत्रमा यसको अनुगमन गरेको थिएँ । कानुनको वेवास्ता गरि सार्वजनिक स्थलमा धुमपान गरेको पाइयो,’ पाण्डेले पालिकाखबरसँग भने । 

हरेक दिन बिहान बेलुका ड्युटीमा खटिरहेको बेलामा धुमपानको अवस्था उनी निगरानी गरिरहेको हुन्छन् । महानगरका सबै सार्वजनिक स्थलमा धुमपान खुला रुपमा भइरहेको छ ।

सार्वजनिक स्थलमा धुमपान नगर्न सम्झाइ बुझाइ गरेर पनि कुनै पनि किसिमको कारबाहीको प्रकृया भने अघि बढी नसकेको उनले बताए । 

‘लागेको बानी छुटाउँन मानिसहरु गाह्रो मान्छन् । मानिसहरुको सोचाईमा परिवर्तन गराउन समय लाग्छ । हामीले प्रयत्न गरिरहेका छौँ,’ उनी थप्छन्, ‘नेपालीमा सुधारको लागि आफै सुध्रनु पर्छ भन्ने सोचाई नै छैन । विदेश जाँदा कहाँ के गर्नुहुन्छ र हुँदैन भन्ने कुरामा सजक हुन्छौँ तर कानुन उलङ्घन गर्दा रमाउने, ठूलो भएँ खालको सोचाइ छ ।’

सार्वजनिक स्थलमा धुमपान गरेमा कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने उनले बताए ।