close

महिलालाई आत्मनिर्भर बनाउँदै भीमेश्वर

महिलालाई आत्मनिर्भर बनाउँदै भीमेश्वर

Trulli
ADVERTISEMENT

दोलखा– भीमेश्वर नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउनको लागि आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न कार्यक्रमहरु ल्याएकाे  छ । नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन उद्योग, व्यवसाय सम्बन्धि तालिम दिने कार्यक्रमहरु ल्याइएको नगरपालिकाका उपप्रमुख कमला बस्नेतले जानकारी दिइन् । 

उनको अनुसार महिला, दलित तथा विपन्नलाई उनीहरुको स्तरअनुसार सिलाई, ढाका बुन्ने, ड्राइभिङ जस्ता तालिम सञ्चालन गर्ने नीति तथा कार्यक्रम नगरपालिकाले ल्याएको छ। ‘किशोरीहरुको स्वसुरक्षाको लागि तालिम दिने कार्यक्रम राखेका छौँ,’ उनले भनिन् ।

'अर्गानिक उत्पादनमा महिला’ कार्यक्रमअन्तर्गत मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल खेती गराइने उनले जानकारी दिइन् । व्यवसायी/उद्यमी बनाउन १८ वर्षभन्दा माथी ४५ वर्षमा महिलाहरुलाई वर्गीकरण गरिएको र सोही अनुसार नगरपालिकाका कार्यक्रममा सहभागी गराउने उनले बताइन् । 

यस्तै नगरपालिकाले आफ्नै खर्चमा पालिकाभरिका महिलाहरुको लागि नि:शुल्क सेनेटरी प्याड वितरण गर्न बजेट छुट्याएको उपप्रमुख बस्नेतले जानकारी दिइन् । ‘ज्येष्ठ नागरिक बिरामी भएमा उहाँहरुलाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यक्रम ल्याएका छौँ,’ उनले भनिन् ।

महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता भएका व्यक्ति, गरिब, विपन्न व्यक्तिहरुको लागि विभिन्न किसिमको क्षमता अभिवृत्तिको कार्यक्रम नगरपालिकाले सञ्चालन गर्ने उनले जानकारी दिइन् । महिला तथा बालबालिकाका अघिल्ला आर्थिक वर्षका एक दुईवटा बाहेक अधिका‌ंश योजनालाई नितरन्तरता दिएको उनले बताइन् । उनले भनिन्,  ‘लोक सेवा तयारी कक्षा भने यस आर्थिक वर्षको कार्यक्रममा समावेश गरिएको छैन ।’ 

यस्तै, सुनौलो हजार दिने महिलाहरुलाई स्वास्थ्यकर्मीसहित भेट्न जाने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको उनले जानकारी दिइन् । ‘स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीसहित गएर गर्भवती तथा सुत्केरीको स्वास्थ्य परिक्षण गर्छौै‌ं । जनप्रतिनिधि भेट्न जाँदा हर्लिक्स, फलफूलसहित जाने गछौँ,’ उनले भनिन् ।