धनगढी । कैलाली जिल्ला डुबानसँगै नदी कटानको उच्च जोखिममा छ । प्राकृतिकरुपले कैलाली जिल्ला जति धनी छ, त्यति नै दैविक र प्राकृतिक प्रकोपले पनि जोखिममा छ ।
कैलाली चुरे पहाडसँग जोडिएको जिल्ला भएकाले प्राकृतिकरुपले धनी मानिन्छ ।
पछिल्लो समय कैलाली जिल्लाको चुरे पहाडलाई जोगाउने प्रयास नगरिँदा र चुरे विनाशको चपेटामा पर्दै गएकाले पनि दैविक र प्राकृतिक प्रकोपका घटना बढ्दै गएको पाइन्छ ।
चुरे पहाड आफैँमा जोखिममा छ । तर, प्राकृतिक माफियाहरूले चुरेको विनाश गर्दै जानाले यसको असर मौसम परिवर्तन भएसँगै देखिन थालेको छ । चुरे विनाशले चुरे क्षेत्रमा पहिरोको जोखिम बढ्दै जानुका साथै भू—स्खलित पनि हुँदै गएको छ । जसको असर तल्लो तटीय क्षेत्रमा पर्ने गरेको छ ।
चुरेमा भू—स्खलित हुँदा तल्लो तटीय क्षेत्र डुबानसँगै नदी कटानको उच्च जोखिममा पर्दै गएको छ । वातावरणविद्का अनुसार चुरे विनाशको असर चुरेमा त छँदै छ, त्यसको सबैभन्दा बढी क्षति तल्लो तटीय क्षेत्रले बेहोर्नुपरेको छ ।
चुरे विनाशले तल्लो तटीय क्षेत्रमा डुबानसँगै नदी कटानको जोखिम निम्त्याएको छ । भने अर्कोतर्फ तल्लो तटीय क्षेत्रमा गर्मी समयमा पानीको अभाव हुने, सुख्खा खडेरी पर्ने र वर्षातको समयमा डुबानसँगै नदीले कटानको धार पनि परिवर्तन गर्नेजस्ता समस्या देखा पर्न थालेका छन् ।
त्यस्तै जिल्लाको भजनी नगरपालिकाका लालबोझीबासी डुबानसँगै नदी कटानले विस्थापित हुनुपरेको छ । यो त एक उदाहरण मात्र हो । यस्तै जिल्लाको धनगढी, अत्तरिया, चौमाला, मसुरिया, पहलमानपुर, सुखड, बौनियाँ, लम्की, भजनी र टीकापुरलगायत क्षेत्र डुबानको उच्च जोखिममा छन् भने जिल्लाको दक्षिण भेगका बस्ती नदी कटानको उच्च जोखिममा छन् ।
नदी कटान रोक्ने सामूहिक प्रयास
जिल्लामा नदी कटानको समस्या वर्षेनी देखिन थालेपछि टीकापुरमा नदी कटान रोक्न गत वर्ष सामूहिक प्रयास गरिएको थियो ।
जिल्लाको टीकापुर नगरपालिका–२ मूलपानी नजिक भूराखानी क्षेत्र र वडा नम्बर ५ भुराखानीमा कर्णाली नदीले कटान सुरु गरेपछि नदी कटान रोक्न सामूहिक प्रयास गरिएको हो ।
कर्णाली नदीले कटान सुरु गरेपछि कटान भइरहेका ठाउँमा तत्काल जैविक तटबन्ध गर्ने सामूहिक प्रयास थालिएको थियो ।
यो वर्ष पनि टीकापुर नगरपालिका, रानीजमरा कुलरिया सिँचाइ आयोजना, आयोजनाअन्तर्गतका समिति, जिल्ला विपद् व्यवस्थापन समिति, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा नदी कटान रोक्ने प्रयास थालिएको टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारुले जानकारी दिए ।
‘नदीमा पानीको बहाव बढेपछि रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध भत्काएको छ । जसले गर्दा बस्ती डुबानको उच्च जोखिममा रहेका छन् । र कतिपय बस्ती विस्थापित हुनुपर्ने देखिन्छ । त्यसैले नदी कटान रोक्न सामूहिक प्रयास थालेका हौँ,’ उनले भने ।
गत वर्ष निर्माण भएको तटबन्ध पूरै भत्किसकेको छ । यो तटबन्धबाट नदी छेउछाउका बस्ती जोखिममा छन् । नदी बस्तीमा पसेमा टीकापुरका नगरपालिकाका वडा नम्बर ६, ७, ८ र ९ प्रभावित हुने बताउँदै नगरप्रमुख डगौरा थारुले नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले तत्कालै तटबन्ध कार्य गर्नुपर्ने भनेपछि नेपाली सेनाको टोलीले कटान भइरहेको स्थल अध्ययन गरिसकेको बताए ।
तटबन्ध गर्न बाँसलगायतको व्यवस्थापन नगरपालिकाले गर्ने भएको छ । त्यस्तै आवश्यक नाइलन जाली, खाली बोरालगायत अन्य सामग्री र जनशक्तिको व्यवस्थापन रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गर्ने भएको छ ।
आवश्यक रबोट बोट (डुङ्गा), र लाइफ ज्याकेटलगायत सुरक्षा सामग्रीको व्यवस्थापन नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा र टीकापुर नगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी बल तालिम शिक्षालयले उपलब्ध गराउने र प्राविधिक जनशक्ति व्यवस्थापन जिल्ला विपद् व्यवस्थापन समितिले गर्ने भएको छ ।
नदी कटानले कैलाली र बर्दिया जोड्ने टीकापुर–८ फाँटागाउँस्थित कर्णाली पुलको बर्दिया क्षेत्रको उत्तर र दक्षिणतर्फ बनेको तटबन्ध नदीमा भासिन थालेको छ । तटबन्ध भासिन थालेपछि पुलसमेत जोखिममा परेको छ । त्यहाँ समयमै तटबन्ध पुनःनिर्माण कार्य सुरु नगरिए बर्दियातर्फ ठुलो क्षति हुने देखिन्छ ।