close

कर्णालीमा बाढीपहिरो : साढे १० हजार नागरिक घरबारविहीन

कर्णालीमा बाढीपहिरो : साढे १० हजार नागरिक घरबारविहीन

Trulli
ADVERTISEMENT

सुर्खेत । बाढीपहिरोका कारण कर्णाली प्रदेशमा १० हजार सात सय १४ जना घरबारविहीन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सबैभन्दा धेरै मुगुमा पाँच हजार दुई सय ८२ जना घरबारविहीन भएका छन् ।

कालीकोटमा एक हजार सात सय ६३, जुम्लामा एक हजार सात सय २५, सल्यानमा छ सय ३९, सुर्खेतमा पाँच सय ६६, हुम्लामा चार सय ७४, दैलेखमा दुई सय सात, डोल्पामा २५, जाजरकोटमा १८ र रुकुमपश्चिममा १५ जना घरबारविहीन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बाढी पहिराबाट कर्णालीमा एक हजार सात सय २० घरधुरी विस्थापित भएका छन् । त्यसमा मुगुमा सात सय २३, जुम्लामा तीन सय ६८, कालीकोटमा दुई सय ३५, सुर्खेतमा एक सय ३९, सल्यानमा एक सय २७, हुम्लामा ७३, दैलेखमा ४४, डोल्पा र रुकुमपश्चिममा चार÷चार तथा जाजरकोटमा तीन घरधुरी विस्थापित भए ।

यस्तै बाढी पहिरामा परेर कर्णालीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट जुम्लामा १० जना, मुगुमा आठ, कालीकोटमा छ, हुम्लामा चार, जाजरकोट सल्यानमा तीन÷तीन, दैलेख र डोल्पामा एक÷एक जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बाढी पहिरामा परेर कर्णाली प्रदेशको कालीकोटमा सबैभन्दा धेरै १७ जना बेपत्ता भएका छन् भने दैलेख, जुम्ला र डोल्पामा एक÷एक गरी २० जना बेपत्ता भएका छन् । तीमध्ये एक जना नेपाल प्रहरीका जवान रहेको जनाइएको छ । 

त्यस्तै बाढीपहिरामा परेर कर्णालीमा २८ जना घाइते भएका छन् । सबैभन्दा धेरै कालीकोटकै १० जना घाइते भएका छन् भने हुम्लामा छ, मुगु र जुम्लामा पाँच/पाँच जना तथा जाजरकोट र रुकुमपश्चिममा एक÷एक जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा पूर्णरुपमा एक हजार एक सय ४० घर भत्किएका छन् भने आंशिक एक हजार छ सय १२ घर भत्किएका छन् ।

त्यस्तै बाढी तथा पहिराबाट उच्च जोखिममा एक हजार चार सय ७७ घरधुरी रहेका छन् ।

पाँच दिनसम्म लगातार भएको वर्षाका कारण पानीले कर्णाली प्रदेशको मुगुमा दुई सय ५१, हुम्लामा दुई सय १७ र सल्यानमा ६४ गरी दुई सय ४६ पशुचौपायको मृत्यु भएको छ । बाढीपहिराका बेला उद्धार तथा राहत वितरणमा प्रदेशभर दुई हजार सात सय चार जना प्रहरी परिचालन गरिएको थियो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार मुगुमा सात सय ५० जना, सल्यानमा पाँच सय ८०, जुम्लामा दुई सय ६५, रुकुमपश्चिममा दुई सय २९, कालीकोटमा दुई सय २५, जाजरकोटमा दुई सय १७, सुर्खेतमा एक सय ९४, हुम्लामा एक सय १४, दैलेखमा ८० र डोल्पामा ५० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) पोषराज पोखरेलले बेपत्ता व्यक्तिको खोजीकार्यसँगै अन्य क्षतिको विवरण सङ्कलनका लागि नेपाल प्रहरी अहिले पनि प्रभावित क्षेत्रमा खटिइरहेकाले उल्लेखित विवरणमा थपघट हुनसक्ने जानकारी दिए । 

पहिराले कर्णाली क्षेत्रको अवरुद्ध यातायात आंशिकरुपमा सञ्चालनमा आए पनि पूर्णरुपमा यातायात सञ्चालनमा ल्याउन अझै केही दिन लाग्नेछ । कर्णाली राजमार्ग कर्णाली करिडोर (हुम्ला जाने), रत्न राजमार्गसहित जाजरकोट, दैलेख जाने सडकमा ठूलो क्षति भएको छ ।

‘पूर्णरुपमा विच्छेद भएको सडक सञ्जाल आंशिकरुपमा सञ्चालनमा आएको छ,’ प्रदेश प्रहरी कार्यालयका प्रमुख पोखरेलले भने, ‘पूर्णरुपमा विच्छेद भएको कर्णाली करिडोर र कर्णाली राजमार्ग खुल्न अझै महिना दिन बढी लाग्ने देखिन्छ ।’

उनका अनुसार मुख्य राजमार्ग मात्र नभएर कतिपय सहायक राजमार्ग पनि अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन् । पहिराले दर्जनौँ स्थानमा राजमार्ग अवरुद्ध भएपछि राहत र उद्धारमा पनि कठिनाइ भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विस्थापितलाई सरकारले हेलिकप्टरमार्फत राहत वितरण गरिरहेको पनि डिआइजी पोखरेलले जानकारी दिनुभयो । सडक सञ्जाल विच्छेद भएपछि हेलिकप्टरमार्फत टेण्ट, कम्मलसहित अन्य राहतका सामग्री बाढीपहिरो प्रभावित जिल्लामा पुर्‍याइएको छ ।