close

सबैलाई भावुक बनाउँदै सरुवा भए ध्रुव'सर !

‘कानुनी प्रक्रियाबाट छलफल भएर सहमति हुने कुरा त आफ्नो ठाउँमा छँदै छ । तर, व्यावहारिक रुपमा कुनै काममा जटिलता आउँदा हामी व्यापक छलफल गरेर निष्कर्ष निकालेपछि मात्रै काम अगाडि बढाउँथ्यौँ,’ उनी भन्छन् । कामप्रतिको लगन, दक्षता र सबैसँग गर्ने व्यवहार नै उनको सबल पक्ष रहेको पूर्वमेयर राई बताउँछन् ।

सबैलाई भावुक बनाउँदै सरुवा भए ध्रुव'सर !

‘कानुनी प्रक्रियाबाट छलफल भएर सहमति हुने कुरा त आफ्नो ठाउँमा छँदै छ । तर, व्यावहारिक रुपमा कुनै काममा जटिलता आउँदा हामी व्यापक छलफल गरेर निष्कर्ष निकालेपछि मात्रै काम अगाडि बढाउँथ्यौँ,’ उनी भन्छन् । कामप्रतिको लगन, दक्षता र सबैसँग गर्ने व्यवहार नै उनको सबल पक्ष रहेको पूर्वमेयर राई बताउँछन् ।

Trulli
ADVERTISEMENT

काठमाडौँ । शनिबार चौदण्डीगढी नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत ध्रुव आचार्यलाई बिदाइ गर्‍यो । 

‘मौसम पनि राम्रो थिएन, पानी परिरहेको थियो । तर, ध्रुव सरको बिदाइमा उपस्थित हुनेको संख्या भने बाक्लै थियो,’ चौदण्डीगढी नगरपालिकाका लेखा प्रमुख अम्बरबहादुर मगर सुनाउँछन्, ‘ध्रुव सरलाई बिदाइ गरिरहँदा सबै कर्मचारीका आँखा टिलपिलाएका थिए ।’

स्थानीय तहको प्रशासनिक जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतसँगै हुन्छ । 'ध्रुव आचार्यसँग काम गर्दा अभिभावकसँग रहेर काम गरेको जस्तो महसुस गरेँ', मगरले भने । 

नौ वर्ष लामो निजामती सेवामा रहेका मगरको अनुभवमा आचार्यजस्तो अभिभावक र सहज 'हाकिम' उनले आजसम्म व्यहोर्न पाएका थिएनन् । नगरपालिकाका अन्य कर्मचारीका समस्या र कमी कमजोरीलाई व्यवस्थापन गर्ने सीप आचार्यसँग रहेको उनको अनुभव छ ।

आचार्यले चौदण्डीगढी नगरपालिकामा करिब २३ महिना अर्थात् झन्डै २ वर्ष प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

नगरपालिकाका पूर्वमेयर खगेन्द्र राईले पनि आफ्नो कार्यकालमा चार जना प्रमुख प्रशासकीय अधिकृतसँग काम गरे । तीमध्ये आचार्यसँग सहकार्य गर्दाको अनुभव सबैभन्दा राम्रो रहेको उनी बताउँछन् । 

‘कानुनी प्रक्रियाबाट छलफल भएर सहमति हुने कुरा त आफ्नो ठाउँमा छँदै छ । तर, व्यावहारिक रुपमा कुनै काममा जटिलता आउँदा हामी व्यापक छलफल गरेर निष्कर्ष निकालेपछि मात्रै काम अगाडि बढाउँथ्यौँ,’ उनी भन्छन् । कामप्रतिको लगन, दक्षता र सबैसँग गर्ने व्यवहार नै उनको सबल पक्ष रहेको पूर्वमेयर राई बताउँछन् । 

चौदण्डीगढीअघि उनले कीर्तिपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्य गरे । त्यहाँ पनि सबैको मन जिते । कीर्तिपुर नगरपालिकाकी पूर्वउपमेयर सरस्वती रिजाल समेत आफ्नो कार्यकालमा आचार्यसँग काम गर्दा सबैभन्दा सहज भएको बताउँछिन् ।

इमान्दार, विशिष्ट कार्यशैली, सबैलाई मिलाउन सक्ने गुण भएका उनी नेपालकै कुशल प्रशासकमध्ये एक रहेको उनको दाबी छ ।सेवाग्राहीसँग व्यवहार गर्ने तौरतरिकाले पनि उनलाई असल कर्मचारीको रुपमा स्थापित गरेको छ । ‘जनप्रतिनिधि र कर्मचारीबीच भिन्नता त हुन्छ नै । तर यो भिन्नतालाई मिलाएर अघि बढ्ने क्षमता ध्रुवजीसँग छ,’ उनी भन्छिन् । 

सुर्खेतको साबिक दर्पण गाविसमा जन्मिएका आचार्य ४१ वर्षका भइसके । गाउँमै रहेको आदर्श माविबाट एसएलसी उत्तीर्ण गरेका उनले जिल्लाको सदरमुकाममा रहेको वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरे । आचार्यले निजामती कर्मचारीका रुपमा काम गर्न थालेको दुई दशक पूरा भइसकेको छ । २०५९ सालको असोज महिनादेखि जागिरे जीवन सुरु गरेका उनले खरदार, नासु, सेक्सन अफिसर हुँदै उपसचिवसम्मको जिम्मेवारी सम्हालिसकेका छन् । 

विगत पाँच वर्षदेखि विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका उनी अहिले मन्त्रालयमा सरुवा भएका हुन् । सूचना तथा सञ्चार मन्त्रालयमा नयाँ कार्य अनुभव संगाल्न उनले चौदण्डीगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट बिदा लिएका हुन् । 

उनले दुल्लु नगरपालिका, टिकापुर नगरपालिका, कीर्तिपुर नगरपालिका र चौदण्डीगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन् । राजधानीमा रहेको सुगम नगरपालिका कीर्तिपुरदेखि दुर्गम क्षेत्रका स्थानीय तहसम्मको प्रमुख प्रशासकीय अधिकृतसम्मको अनुभव र अनुभूति उनले संगालेका छन् ।

उनको अनुभवले भन्छ, 'सुगम स्थानका स्थानीय तहले विकासको गति लिइसकेको हुन्छ । त्यसको व्यवस्थापन गर्नु नै मुख्य चुनौती हो । अन्य क्षेत्रको तुलनामा चेतनाको स्तर माथि भएपनि व्यवहारमा लागु हुन नसक्दा सरकारलाई असहयोग हुने गर्छ । तर कतिपय गाउँका जनताले विकास अनुभव नै गर्न पाएका छैनन् । त्यस्ता स्थानमा समृद्धिका पहिलो खुड्किलादेखि पाइला चाल्नु पर्छ । सडक खानेपानी, सिँचाई, विद्यालय भवन, स्वास्थ्यचौकी जस्ता आधारभूत विकासका पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।' 

‘ग्रामीण क्षेत्रका नागरिकको चेतना स्तर कम हुनसक्छ । आफ्नो अधिकार  र कर्तव्यको बारेमा कतिपय नागरिक जानकार समेत हुँदैनन् । अलि जान्ने सुन्नेले पनि मौकाको फाइदा उठाउन खोज्छन् नै ।’

ग्रामीण क्षेत्रका स्थानीय तहको आम्दानीको दायरा नै कमजोर रहेको तथा थोरै जनशक्तिबाट काम लिनुपर्ने समस्या रहेको उनी बताउँछन् । 'थोरै कर्मचारीले धेरै काम गर्नुपर्दा सहज तरिकाले विकासका काम सम्पादन नहुने रहेछ,'  भन्छन् ।

प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा रहेर गरेका सबै काम र क्षण उनका लागि अविस्मरणीय बनेका छन् । उनी सम्झन्छन् ‘सन् २०१८ को कुरा हो । टीकापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिरहेको थिएँ । त्यस समयमा इन्टेग्रिटी आइडलको फाइनलिस्ट बन्न सफल भएँ । भोटिङ राउन्डमा जिताउनको लागि सबैले दिनुभएको साथ र सहयोग म कहिल्यै पनि भुल्न सक्दिनँ ।’ एउटा कर्मचारीलाई जिताउनकै लागि नागरिक, राजनीतिक दल, पत्रकार, अन्य कर्मचारीले दिनुभएको साथ अपत्यारिलो र अविस्मरणीय रहेको उनी बताउँछन् । 

टिमवर्क र परिवारका सदस्य जस्तै एक अर्कालाई सहयोग गर्दै काम गर्दा काम गर्न सहज हुने र सबैको प्रिय पनि भइने उनको अनुभव छ । ‘प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रशासनिक नेतृत्व हो । नेतृत्व सही तरिकाले सम्हाल्न सकेमा मात्र आफ्नो कर्तव्य पूरा गर्न सफल भइन्छ ’ उनी भन्छन् ।

कर्मचारीको नेतृत्वमा रहे पनि सबैसँग मित्रवत् व्यवहार र सबैप्रति समान दृष्टिकोण राख्दा सबैको मन जित्न सफल भएको महसुस आचार्यले गरेका छन् । 

उनी भन्छन्, जनप्रतिनिधि भनेको स्थानीय तहको अभिभावक हो । स्थानीय तहमा सही दिशा र द्रुत गतिमा काम गर्नका लागि जनप्रतिनिधि अनिवार्य आवश्यकता रहेको उनको अनुभव छ । ‘जनप्रतिनिधि बीना विगतमा स्थानीय तहहरू आमाबुबा विनाको घर जस्तै बनेका थिए,’ ध्रुव सुनाउँछन् ।  

आफूले गरेको कामको रेकर्ड राख्ने, रिपोर्टिङ गर्ने त्यसलाई रिभ्यू गर्ने र आफ्ना कमीकमजोरीलाई सुधार गर्न कर्मचारी आफै पनि सजग हुनुपर्छ । त्यसले सुशासन ल्याउन ठुलो मदत गर्छ । राम्रो सरकारको पहिचान नै कर्मचारीले गरेको काम रहेको उनको बुझाइ छ ।  

प्रमुख प्रशासकीय अधिकृतले राजनीतिक दलबाट आएका जनप्रतिनिधि, कर्मचारी तथा आम जनसमुदायको बीचमा रहेर काम गर्नुपर्ने हुन्छ । यी तिनै क्षेत्रलाई जोड्न सक्ने क्षमता प्रप्रअमा हुनुपर्छ । कानुनी, सैद्धान्तिक ज्ञान, तत्कालीन समस्या समाधान गर्नसक्ने क्षमता हुनु आवश्यक छ । 

रिपोर्टिङको क्रममा उनले काम गरेका स्थानीय तहका पूर्व जनप्रतिनिधि तथा सहकर्मीसँग उनको विषयमा कुराकानी भयो । सबैसँग कुराकानी गरिरहँदा लगनशीलता, मित्रवत् व्यवहार र कार्य दक्षताले उनी कुशल प्रमुख प्रशासकीय अधिकृत बनेको निश्कर्ष निकाल्न कठिन भएन । उनीसँग कुराकानी गरिरहँदा पनि सरल र सहज व्यवहारका भएको मैले पनि महसुस गरेँ ।

ध्रुव आचार्यले भनेका दुई कुरा मलाई पनि निकै नै घत लाग्यो । ‘परिवर्तन एकजनाले गर्न सक्दैन तर परिवर्तनको नेतृत्व भने एक जनाले गर्छ । आफूले इमान्दार र मित्रवत् व्यवहारका साथ काम गर्दा अरूबाट पनि त्यही व्यवहार पाउन सकिन्छ ,’ उनी भन्छन् ।