close

‘स्थानीय तहमा केही गर्छु भन्ने कर्मचारीलाई समय अपुग हुन्छ’

‘स्थानीय तहमा केही गर्छु भन्ने कर्मचारीलाई समय अपुग हुन्छ’

Trulli
ADVERTISEMENT

काठमाडौं । धनकुटा पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल उत्कृष्ट निजामती कर्मचारी सेवा पुरस्कार २०७९बाट सम्मानित भएका छन् ।

उनी कामप्रति जिम्मेवार र सतर्क सधैँ बफादार रहने गर्छन् । कामप्रतिको बफादारकै कारण नेपाल सरकारले उनलाई २०७९ सालको उत्कृष्ट निजामती सेवा पुरस्कारबाट सम्मान गरेको हो । 

२०२४ मंसिरमा तनहुँको भानु नगरपालिकामा जन्मिएका पौडेलले लमजुङको सर्वोदय माविबाट अध्ययन सुरु भएको थियो । मामाघर लमजुङबाट सवा घण्टा हिँडेर उनी विद्यालय पुग्थे ।  मामाघर बसे पनि घरायसी काम सकेर विद्यालय जानुपर्थ्यो । गाउँमा बिजुली नहुँदा  टुकी बालेर पढेको स्मरण गर्दै भने, ‘कहिलेकाहीँ टुकी बाल्ने मट्टीतेल पनि सकिन्थ्यो । छिमेकमा सापटी मट्टीतेल मागेर पढ्थ्यौँ । बेलुकी एउटा टुकी बत्तीमुनि बसेर पढ्ने हामी दश बाह्र जना नै हुन्थ्यौँ । मामाको छोराछोरी र वरपरका छिमेकका साथी सबैजना सँगै बसेर पढ्थ्यौँ ।’

कुरा २०४१ सालको हो । उनी कक्षा १० मा पढ्थे । त्यो समयमा एसएलसी दिन अहिलेजस्तो सहज वातावरण थिएन । लमजुङको गाउँशहरको विद्यालयमा परीक्षाको केन्द्र पर्‍यो । एक दिनको बाटो हिँडेर गाउँशहर पुग्नुपथ्यो । त्यसमा पनि सिरक डस्ना, भाँडाकुँडा बोक्न पर्थ्यो ।

यसरी संघर्ष गरेर एसएसी दिएका उनी दोस्रो श्रेणीमा पास भए । जसको चर्चा पल्लो गाँउसम्म चलेको थियो ।

एसएसी पासपश्चात् दुःख गरेर भए पनि पढ्ने दृढ संकल्पका साथ काठमाडौं आएका उनले नेपाल ल क्याम्पसबाट आइएल र  प्राइभेटबाट बिएड गरे । 

जागिरे जीवनमा रहँदा पाल्पाको तानसेन बहुमुखी क्याम्पसबाट उनले एमएडसम्मको पढाइ पूरा गरे । 

अस्थायी जागिरबाट जागिरे जीवनको सुरुवात गरेका उनी २०४५ सालमा खरदारको अस्थायी जागिरबाट निजामती सेवामा प्रवेश गरेका थिए । तर, २०४६ सालबाट लमजुङमा अस्थायी शिक्षक भएर काम गरे । झन्डै ६ वर्ष शिक्षण पेसापछि २०५२ सालमा पुन: उनी निजामती कर्मचारीमा प्रवेश गरे । त्यसपछि सुब्बा, अधिकृत हुँदै विगत २७ वर्षदेखि उनले देश र जनताको सेवा गर्दै आएका छन् । 

मुगु, जुम्ला, बाजुरा, डोटी अछाम, पाल्पा, नवलपरासी, इलाममा उनले विभिन्न पदमा रहेर काम गरिसकेका छन् । सुदूरपश्चिम र मध्यपश्चिमी क्षेत्र उनको जागिरे जीवनको अधिकतम समय बित्यो । 

इलामको सूर्योदय नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेर गरेको काम आफूले गरेको उत्कृष्ट काममध्ये एक रहेको उनी बताउँछन् । 

जहाँ उनले २०७५ सालदेखि तीन वर्ष प्रमुख प्रशासकीय अधिकृत रहेर काम गरेका थिए । 

‘अहिले सूर्योदय नगरपालिका भक्तपुर नगरपालिकापछिको देशकै उत्कृष्ट नगरपालिका बनेको छ । इलामका मेयर स्थानीय तहलाई राम्रो बनाउन निकै मिहिनेत गर्नुहुन्थ्यो । कर्मचारीले पनि आफ्नो तर्फबाट सकेसम्म मिहिनेत गर्नुभयो । मिहिनेतअनुसार राम्रा योजना बने र त्यसलाई कार्यान्वयन गर्न सफल पनि भयौँ,’ उनी सम्झछन् । 

इलाममा रहँदा बिहान सात बजेदेखि राति दुई बजेसम्म बसेर काम गर्ने गरेको उनी बताउँछन् । 

यस्तै, यस वर्ष पनि पाख्रीबास नगरपालिकाको नगरसभाको समयमा तीन दिनसम्म नसुती काम गरेको उनी बताउँछन् । 

‘नगरसभाका लागि तयारी र नयाँ योजनासहितका नीति तथा कार्यक्रमका लागि कार्यालय समयबाहेकको समयमा काम गरेँ । कार्यालय समयमा सेवाग्राहीलाई सेवा प्रवाह विनारोकावट गरेँ ।’

राम्रा कार्यक्रम ल्याउनेबारे सोच्दासोच्दै सुत्ने फुर्सदसमेत नपाएको उनी बताउँछन् । स्थानीय नयाँ काम र योजना ल्याएको यसपालिको पाख्रीबासको नीति तथा कार्यक्रममा रहेको उनको भनाइ छ । 

तर, पाख्रिवासमा आफूले सोचेजस्तो काम गर्न नसकेको उनलाई महसुस भएको छ । 

‘अल्पमत र बहुमतका खिचातानी कारण काममा ढिला सुस्ती भएको छ । कार्यपालिकाको बैठक नियमित नबस्दा काम गर्न समस्या भएको छ । तर, उत्कृष्ट नीति तथा कार्यक्रम ल्याइएको छ । पाख्रिवास विकासको नयाँ मोडल छ,’ उनी भन्छन् । 

यस्तै, शहरी विकास मन्त्रालय युएपडिपीसम्म नयाँनयाँ योजनको माग गर्ने आगामी वर्षका लागि योजना माग लैजान पहल भइरहेको उनको भनाइ छ । 

उनका एक छोरा र एक छोरी गरी दुई सन्तान छन् । उनको सपरिवार चितवनमा बस्छ । 

कहिले बिदा लिएर त कहिले सरकारी कामकाज मिलाएर उनी घर पुग्ने गर्छन् । बाँकी समय उनले देश र आफ्ना सेवाग्राहीका लागि दिने गरेका छन् । 

कार्यालय समय  १०देखि ५ बजेसम्म भए पनि आफूले समय हेर्ने नगरेको बताउँदै भन्छन्,‘सेवा गर्ने मान्छेले समय हेर्दैन । छिटो र धेरै काम कसरी गर्न सकिन्छ त्यो मेरो लागि महत्त्वपूर्ण हुन्छ ।’

सेवाग्राहीलाई सेवाबाट वञ्चित नागरिक अन्य नयाँ कार्यक्रम र योजना रातभरि बसेर बनाउने गरेको उनी बताउँछन् । केही गर्न चाहने कर्मचारीलाई स्थानीय तहमा काम गर्ने समय कम हुने उनको अनुभव छ । 

उनले जुम्लामा पाँचवर्षे (२०६०–२०६५ सालसम्म) योजना अधिकृतका रुपमा काम गरे ।

उनी सम्झन्छन्, ‘४८ लाखको टेन्डर लगेर गुम्रामाडी चौरमा खानेपानी पुर्‍यायौँ । बाटोको निसाना थिएन । प्राविधिक कार्यालयको भवन बनाउने सुर्खेत जुम्लाको सडकखण्ड सुधार गर्ने, गाउँगाउँमा बाटो र सिँचाइको पहुँच पुर्‍याउने, अर्गानिक जिल्ला घोषणा गर्नेजस्ता काम गरेँ,’ जुम्लामा बाह्रै महिना विभिन्न तरकारी उत्पादन भएको देख्दा उनलाई आफ्नो कामप्रति गर्व लाग्छ । 

बाँकेको सहकारी प्रशिक्षण केन्द्रमा प्रशिक्षकको रुपमा रहेर काम गर्ने क्रममा सेवाग्राहीको मन जित्न सफल भएको बताउँछन् उनी । 

‘जहाँजहाँ जान्छु त्यहाँ नयाँनयाँ काम गरेर आफ्नो छाप छोडेको छु । नियम र कानुन प्रक्रियालाई मान्दै नयाँ ढङ्गले काम गरेको छु,’ उनी भन्छन् । 

प्रमुख प्रशासकीय अधिकृतले सेवाग्राही र जनप्रतिनिधिको पुलको काम गर्ने उनी बताउँछन् । 

नीति नियमलाई बनाउन जनप्रतिनिधिलाई सहयोग र सहजीकरण गर्ने, बनेका नीति नियमलाई कार्यान्वयन गर्ने कर्मचारीलाई सँगै लिएर काम गर्नुपर्छ । 

‘पद वृद्धिसँगै कर्मचारीको कर्तव्य, कार्यक्षेत्र र जिम्मेवारी पनि बढ्छ । यसको व्यवस्थापन गर्नसक्ने मानिस नै असल कर्मचारी हो,’ उनी भन्छन् । 

‘जनप्रतिनिधि र कर्मचारीको विचार कहिलेकाहीँ मिल्दैन । एउटै कार्यालयमा काम गर्दा खटपट पनि हुन्छ । सकारात्मक कामका लागि एकअर्काको विचार नमिल्दा नै झन् राम्रा विचार आउँछन् भन्ने कुरालाई भने भुल्नु हुँदैन’, जनप्रतिनिधिलाई कानुनी प्रावधान र सही तरिकाबाट काम गर्न कन्भिन्स गराएर अघि बढ्नुपर्ने उनी बताउँछन् । 

उनका अनुसार जनप्रतिनिधिलाई जनताको काम तत्काल हुनुपर्छ भन्ने हुन्छ । कर्मचारीले भने नीति नियम र कानुनी प्रक्रियाबाट काम गर्छन् । यी दुवै कुरालाई सन्तुलित तरिकाले लैजानु प्रमुख प्रशासकीय अधिकृतको महत्त्वपूर्ण जिम्मेवारी हुन्छ । 

स्थानीय निकाय स्मार्ट सिटीतर्फ उन्मुख हुनु आवश्यक रहेको उनी बताउँछन् । 

‘पोलिसी डकुमेन्ट बनाइ कार्यान्वयन गर्ने आवधिक योजना, रणनीति योजना बनाएर स्थानीय तहमा काम गर्नुपर्छ । जनतालाई विकास निर्माणमा आकर्षित गर्न योजनाबद्ध तरिकाले अगाडि बढेमात्र स्थानीय तहको विकास सम्भव छ,’ उनी भन्छन् । 

उनी सेवाग्राही र कर्मचारीले कुनै पनि समस्या र झन्झट भोग्न नपरोस् भनेर सजक देखिन्छन् । त्यसैले क्षणिक रुपमा नराम्रो बनिने डरले गलत काम गर्नबाट रोक्नबाट आफू कहिल्यै पछि नहटेको उनी बताउँछन् । 

सेवाग्राहीलाई सेवामैत्री सेवा दिनका लागि नयाँनयाँ तौरतरिकाबाट काम गर्न रुचाउँछन् । सबैसँग शिष्ट व्यवहार र रमाइला कुरा गर्दै हसाउँछन् उनी । 

निजामती कर्मचारी भएदेखिको व्यवहार, कार्य सम्पादन मूल्याङ्कन हेरेर सरकारले निजामती सेवा पुरस्कार प्रदान गर्छ । पुरस्कार पाउनका लागि विभागीय सजाय नभएका, व्यवस्थापन परीक्षण रहेको, कुनै सेवा सुविधा नपाएको निरन्तर काममा खटिएको कर्मचारी हुनुपर्छ । 

चार वर्ष अगाडिदेखि आफूले उक्त पुरस्कार पाउनुपर्ने महसुस गरेको पौडेल बताउँछन् । विगतदेखि नै आफूले राम्रा र नयाँ काम गरेकाले पुरस्कार पाउन आफू योग्य रहेको कुरामा उनी विश्वस्त थिए । तर, ढिलै भए पनि राम्रो कामको सरकारले सही मूल्याङ्कन गरेकोमा खुसी लागेको बताउँछन् उनी । 

‘पुरस्कृत भएकोमा बुधबार इलाम, बाँके जुम्लाबाट फोनमार्फत् धेरैले बधाई दिए । साँच्चै नै राम्रो काम गरेछु जस्तो महसुस भयो । कार्यालय र संस्थाको काम सोच्दा सोच्दै थाहा नपाई २७ वर्ष बितेछ,’ उनले हाँस्दै भने ।