close

हेटौँडा उपमहानगरको बजेट संशोधन

हेटौँडा उपमहानगरको बजेट संशोधन

Trulli
ADVERTISEMENT

मकवानपुर। हेटौँडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ । उपमहानगरपालिले हेटौँडामा आयोजना गरेको नगर परिषद् बैठकमार्फत् चालू आवको बजेटलाई संशोधन गरी तीन अर्ब पाँच करोड रुपैयाँ पुर्याएको हो।हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले बैठकमा प्रस्तुत प्रगति प्रतिवेदनमार्फत् जानकारी दिएका हुन्। 

गत  असारमा सम्पन्न ११ औँ नगर परिषदले चालू आवका लागि रु दुई अर्ब ७१ करोड ७९ लाख बजेट पारित गरिएको थियो । तर अघिल्लो आर्थिक वर्षको रु ३७ करोडभन्दा बढी जिम्मेवारी सरेर आएको योजना तथा कार्यक्रमको रकम भुक्तानी गर्नु परेकाले बजेट संशोधन गरिएको उपप्रमुख राजेश बानियाँले बताए। 

बैठकमा प्रस्तुत प्रतिवेदनमा चालू आवको हालसम्मको प्रगति प्रतिवेदन र बाँकी अवधिमा गर्नुपर्ने कार्य तथा लक्ष्यको विवरण प्रस्तुत गरिएको थियो । 

चालू आवकोे मङ्सिर मसान्तसम्ममा सङ्घीय सरकारबाट समानीकरण  तथा ससर्त अनुदानतर्फ रु ५५ करोड ४६ लाख, प्रदेश सरकारको समानीकरण  अनुदानतर्फ रु ३७ लाख ५० हजार, राजस्व बाँडफाँटतर्फ रु ६ करोड सात लाख ६८ हजार र आन्तरिक स्रोततर्फबाट रु ८७ करोड ८७ लाख आम्दानी भएको उपप्रमुख बानियाँले बताए। साथै उपमहानगरपालिकाले दुई सय ४८ वटा योजनामध्ये ४८ वटा योजना सम्पन्न गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । 

उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको सो बैठकमा योजना कार्यावन्यनका आधारमा हेटौँडा–१४ लाई प्रथम र १५ लाई द्वितीय घोषणा गरिएको थियो । प्रथम र द्वितीय वडालाई क्रमशः रु २० लाख र १५ लाख बराबरको योजना अनुदानस्वरुप उपलब्ध गराउने जानकारी दिइएको थियो । 

उक्त अवसरमा प्रमुख लामाले हेटौँडा उपमहानगरपालिकामा जनअपेक्षाअनुरुप विकास निमार्णका साथै शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड दिएको बताइन्।