close

एकै साथ छ वडा कार्यालय भवन निर्माण सुरु

एकै साथ छ वडा कार्यालय भवन निर्माण सुरु

Trulli
ADVERTISEMENT

पर्वत। जलजला गाउँपालिकाले एकै साथ छ वटा वडा कार्यालय भवन निर्माण सुरु गरेको छ । सङ्घीय सरकारसँगको लागत साझेदारीमा वडा कार्यालयको भवन निर्माण सुरु भएको हो । वडा नं १, ४, ५, ६, ७ र ९ को भवन निर्माण सुरु भएको गाउँपालिकाका इञ्जिनीयर सुनिल बानियाँले जानकारी दिए। 

‘सबै भवन एक तला र चार कोठाका हुनेछन्’, उनले भने, ‘चालु आर्थिक वर्षभित्रमै सम्पन्न गर्ने लक्ष्यसहित ठेक्कामार्फत काम सुरु भएको छ ।’ बाँसखर्क, फट्केढुङ्गा, लेकफाँट, शालिजा, धाइरिङ र बनौमा वडा कार्यालय निर्माण हुन लागेको हो ।

कूल रु चार करोड ३३ लाख १७ हजार लागत अनुमान गरिएको भवन निर्माणका लागि जयलक्ष्मी–अभिनव जेभी बागलुङले रु तीन करोड २६ लाख सात हजार पाँच सय ५१ मा ठेक्का सम्झौता गरेको छ । विसं २०७९ पुस १२ गते ठेक्का सम्झौता भएको भवन निर्माणकार्य २०८० असार ३० मा सम्पन्न गर्ने लक्ष्य छ । गाउँपालिकाका कार्यबाहक अध्यक्ष दीपक आचार्यले निर्माण कम्पनीले निर्माणस्थलमा जग्गा सम्याएर संरचना बनाउन थालेको बताए। 

‘अघिल्लो वर्ष सुरु भएको वडा नं २ र ८ को कार्यालय भवन निर्माणकार्य पनि यसैवर्ष सकिँदैछ, वडा नं ३ को आफ्नै भवन छ,’ उनले भने, ‘छ वटा नयाँ भवन बनाएपछि हाम्रो पालिकाको नौ वटै वडा आफ्नै भवनबाट सञ्चालन हुनेछन् । हाल सामुदायिक भवन र निजी घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गरिएको छ । 
नयाँ भवनमा वडाध्यक्ष, सचिव, जनप्रतिनिधिको कार्यकक्ष र सभाहल हुनेछन् । गत माघ ४ गते भएको १३औँ गाउँसभाले लामाखेतमा गाउँपालिकाको कार्यालय सञ्चालनका लागि अस्थायी संरचना बनाउन रु तीस लाख बजेट विनियोजन गरेको थियो । 

वडा नं ४ का अध्यक्ष भरत जिसीको अध्यक्षतामा बलबहादुर फगामी र टुङ्गनाथ शर्मा सदस्य रहेको जग्गा अध्ययनसम्बन्धी कार्यदल गठन भएको छ । समितिको सिफारिस अनुसार अस्थायी संरचना बनाएर गाउँपालिकाको कार्यालय सञ्चालन गर्ने योजना रहेको छ । लामाखेतमा रहेको गाउँपालिकाको कार्यालय भाडाको घरबाट सञ्चालन भइरहेको छ ।