close

उपत्यका प्रमुख प्रशासकीय अधिकृत फोरम गठन

उपत्यका प्रमुख प्रशासकीय अधिकृत फोरम गठन

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको संयोजकत्वमा उपत्यका प्रमुख प्रशासकीय अधिकृत फोरम गठन भएको छ । फागुन २६ गते बालाजु बाइसधारास्थित महानगरको सभा कक्षमा सम्पन्न उपत्यकाका प्रमुख प्रशासकीय अधिकृतहरुको बैठकले फोरम गठन गरेको हो । यसको सदस्यमा उपत्यकाका सबै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहने छन्।

अन्तरपालिका सम्बन्ध, साझा कार्यक्रम, सहयोग र समन्वय सिकाइ, भोगाइ र अनुभव आदान प्रदान गर्ने फोरम गठनको मुख्य उद्देश्य रहेको जनाइएको छ। फोरममा सार्वजनिक महत्वका विषयमा समान धारणा निर्माण गर्ने, जनप्रतिनिधिबाट तर्जुमा भएका नीतिगत निर्णयमा समान बुझाइ बनाएर उपत्यका एकीकृत विकासमा काम गर्ने विषयमा छलफल हुनेछ । 

बैठकमा प्रशासकीय अधिकृत अधिकारीले महानगरपालिकाका सफल अभ्यासका विषयमा प्रस्तुति गरेका थिए।  एकीकृत विद्युतीय सेवा सञ्चालनमा ल्याइएको, खरिद मूल्याङ्कन अधिकार विभाग र वडालाई दिइएको, आन्तरिक नियन्त्रण प्रणाली विकास गरिएको, वडाहरुको कार्य सम्पादन अनुगमन सूचक तयार पारिएको जस्ता कामलाई सिकाइका रुपमा अन्य पालिकाहरुमा विस्तार गर्न सकिने उनको भनाइ छ  । सामुदायिक विद्यालयहरुको सुधारका लागि प्रोफाइल तयार पारिएको, सहरी स्वास्थ्य क्लिनिकलाई स्तरोन्नति गरेर स्वास्थ्य प्रवर्धन केन्द्रका रुपमा रुपान्तरण प्रक्रिया थालिएको उनको भनाइ छ । विशेषज्ञ स्वास्थ्य सेवासहितका यी केन्द्र सञ्चालनमा  सार्वजनिक सामाजिक उत्तरदायित्वको ढाँचा अबलम्बन गरिने उनले बताए । 

बैठकमा गोकर्णेश्वर नगरपालिकामा बैकुष्ठप्रसाद सापकोटा, शंखरापुरमा बासुदे्व खनाल, बुढानिलकण्ठमा भुवनेश्वर खनाल, तारकेश्वरमा डा. कृष्णबहादुर घिमिरे, चन्द्रागिरीमा जीवनप्रसाद आचार्य प्रमुख प्रशासकीय अधिकृत उपस्थित भएका थिए। यसैगरी चाँगुनारायणमा हिरामणि सुवेदी, सूर्य बिनायकमा राजेन्द्रप्रसाद कँडेल, मध्यपुरमा विजयराज सुवेदी, टोखा नगरमा शेरबहादुर बि. सी. कीर्तिपुरमा लक्ष्मीप्रसाद बास्कोटा, कागेश्वरी मनोहरा नगरमा अजय बर्तौला सहभागी थिए। 

बैठकमा उपस्थित प्रमुख प्रशासकिय अधिकृतले राजस्वको दर एउटै हुनुपर्ने, फोहोरमैला व्यवस्थापनमा एउटै ढाँचाको कार्यक्रम चलाउनुपर्ने, पार्किङ्को मापदण्ड समान बनाउनु पर्ने लगायत विषयमा धारणा राखेका थिए। साझा कार्यक्रमका विषयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले राख्नुभएको प्रस्तावमाथि छलफल गर्दै उनीहरुले सिमाना जोडिएका नगरहरुका समान मापदण्ड बनाउन सके सेवाग्राहीहरुमा सेवा सन्तुष्टि दिन सकिनेमा जोड दिएका हुन् ।

सामुदायिक कुकुर र छाडा चौपाया व्यवस्थापन, डेङ्गी लगायत महामारी नियन्त्रण, वातावरणीय सुधार, ल्याण्डफिल साइटमा कमभन्दा कम फोहोर लैजाने प्रणालीको विकास, सहरी उज्यालो, नदी व्यवस्थापन, सडक सञ्जालको प्रयोग, सार्वजनिक यातायात प्रणालीका विषयमा छलफल भएको थियो । 

बैठकले चैत २४ गते फोरमको अर्को बैठक बस्ने निर्णय गरेको छ । उक्त बैठक कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गर्नेछ ।