close

उद्घाटन भएकाे एक वर्षमा पनि प्रयोगमा आएन नगरपालिका भवन

उद्घाटन भएकाे एक वर्षमा पनि प्रयोगमा आएन नगरपालिका भवन

Trulli
ADVERTISEMENT

कैलाली ।  गोदावरी नगरपालिकाको कार्यपालिका भवन  उद्घाटन गरेकाे एक वर्ष वितिसक्दापनि प्रयोगमा आउन सकेकाे छैन । विसं २०७८ चैत १४ गते तत्कालीन नगरप्रमुख हरि सिँ साउँदले साे भवनकाे उद्घाटन गरेका थिए ।

निर्माण सम्पन्न भएको र ‘फिनिसिङ’को काम बाँकी रहेको भन्दै भवनको उनले भवनकाे उद्घाटन गरेका थिए । तर उक्त भवन उद्घाटन भएको एक वर्ष बितिसक्दा पनि नगरपालिकाको कामकारबाही भने भाडाँकै घरबाट सञ्चालनमा रहेको छ । 

    एसियाली विकास बैंक (एडिवी) को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत भवनको निर्माण गर्न एम/एस शर्मा एन्ड कम्पनीसँग रु १० करोड ५५ लाख ५६ हजार आठ सय १५ मा २०७६ साल मङ्सिर २० गते ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार २०७८ साल साउन २० गते भवन निर्माणको काम सक्नुपर्ने थियो । सम्झौता अवधिमा भवन निर्माणको काम नसकिँदा हाल पटक–पटक म्याद थप गरिँदै काम हुँदै आएको छ । भवनको फिनिसिङको काम नसकिँदा एडिबीले नगरपालिकालाई भवन हस्तान्तरण पनि गर्न सकेको छैन । 

    
    गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले आफूहरुले भवनको काम छिटो सक्न पटक–पटक आग्रह गरे पनि सुनुवाइ हुन नसकेको बताए । उनले भवन आफूहरुको भए पनि निर्माण र कार्यान्वयन गर्ने कार्यालय छुट्टै भएकाले आफूहरुले केही गर्न सक्ने अवस्था नरहेको बताए । 'यो काम गर्ने निर्माण कम्पनी र त्यो काम हेर्ने कार्यालयको कमजोरी हो । हामीले केही गर्न सक्ने अवस्था छैन', उनले भने । 

    यता क्षेत्रीय सहरी विकास आयोजना धनगढीका इन्जिनियर सञ्जीव शाहले भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् । उनले केही कामका लागि निर्माण कम्पनीबाट गरिएको भेरियसन अर्डर (भिओ) स्वीकृत नहुँदा समय लागेको र अब अर्डर स्वीकृत भइसकेकाले केही समय भित्रै सम्पूर्ण काम सम्पन्न हुने बताए ।

हाल भवनमा आवश्यक पर्ने फर्निचर निर्माणको काम जारी रहेको छ । भवन निर्माणमा ढिलाइ हुँदा हाल नगरपालिकाले दुईवटा भवन भाँडामा लिएर काम सञ्चालन गर्दै आएको छ । जसको मासिक रुपमा रु एक लाख ४१ हजार चार सय भाडा नगरपालिकाले तिर्ने गरेको छ ।